ओली सत्ता जोगाउन संविधानको विरोधी भए : नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता जोगाउन संविधानका विरोधी  र दक्षिणपंथी तत्वसँग आत्मसमर्पण गरेको आरोप लगाएका छन् ।  उनले कर्णाली प्रदेशका ४ जना प्रदेश सभा सदस्यहरुको मुद्दामा अदालतले जारी गरेको आदेशविरुद्ध फेरि पुनरावलोकनमा जाने निर्णयलाई पार्टी एकता विरोधी पनि भनेका छन् । 

४ जना प्रदेश सांसदलाई गरिएको कारबाही खारेज गर्ने अदालतको आदेशविरुद्ध फेरि पुनरावलोकन निवेदन (भ्याकेट)मा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिने नेता नेपालको भनाइ छ ।  सोमबार सामाजिक सञ्जालमा एक सन्देश लेख्दै नेता नेपालले जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखिएको पनि बताएका छन् ।

‘कर्णाली प्रदेशका संसद्हरुमाथि विधान विपरीत गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ,’ नेता नेपालले भनेका छन्, ‘स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो ।’

ओलीले पार्टी एकताविरोधी ‘हर्कतलाई’ जारी राखेको उल्लेख गर्दै नेता नेपालले ‘एकता विरोधी तत्वहरू’संग सावधान हुन पनि ध्यानाकर्षण गराएका छन् ।  ‘एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ – सहजै देख्न सकिन्छ,’ नेता नेपालले आफ्नो सन्देशमा भनेका छन्, ‘असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र सम्वादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरु र एकता विरोधी तत्वहरूसंग सावधान हुन सबैको ध्यानाकर्षण गर्न चाहन्छु।’