ओलीले अदालतलाई धम्क्याउने, तर्साउने गरिरहेका छन् : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले ओलीले अदालतलाई धम्क्याउने, तर्साउने र कुनै न कुनै रूपले दबाबमा पारेर, खैजेडीमा पारेर निर्णयमाथि प्रभाव पार्ने खुला षड्यन्त्र गरेको आरोप लगाएका छन् । उनले सत्तामा टिकिरहन अझै पनि ओलीले षड्यन्त्रका गोटी चाल्न सक्ने खतरा कायमै रहेको बताएका छन् । सोमबार विपक्षी गठबन्धनले बुद्धिजीवीहरूसँग गरेको अन्तक्र्रियामा प्रचण्डले अदालतको निर्णयमाथि प्रभाव पार्ने षड्यन्त्रमा प्रधानमन्त्री ओली लागेको आरोप लगाए । 

उनले सत्ताकेन्द्रित भएर नेपाली राजनीतिमा ठूलो चलखेल भएको गन्ध आफूले पाएको दाबी पनि गरे । ओली इतिहासमा नै सबैभन्दा कलंकित र बदनाम भएको तथा राजनीतिक भविष्य नै ओरालो लागिसकेकाले अन्तिम समयसम्म पनि षड्यन्त्रका गोटीहरू चाल्न सक्ने खतरा रहेको प्रचण्डको दाबी छ । 

ओलीले हारेको अनुभूत आफूले गरेको भन्दै प्रचण्डले नेपालको इतिहासमा प्रधानमन्त्री ओली सबैभन्दा कलंकित र बेइमान भएर जाने जिकिर गरे । उनले भने, ‘केपीजी अब सिद्धिनुभयो र नेपालको इतिहासमा सबैभन्दा कलंकित र बदनाम प्रधानमन्त्रीको रूपमा, सबभन्दा निरंकुशको पनि तुच्छस्तरको निरंकुश, झुट, बेइमानबाहेक केही नजान्ने निरंकुशको रूपमा नेपाली इतिहासमा बदनाम भएर जाने हुनुभयो । मलाई त कहिलेकाहीँ केपीजीलाई यसो सम्झिँदाखेरि पनि कठै बिचरा भन्न पनि मन लाग्छ । त्यत्रो वर्ष दुःख ग¥या हो । चौध वर्ष जेल पनि बस्या हो, हुँदो रहेनछ नि त दृष्टिकोण र प्रवृत्ति नभएपछि त जेल बसेर पनि के हुँदो रहेछ र ? त्यसकारण उहाँ ओरालो लागेकै रूपले बुझ्छु । अझै षड्यन्त्रका केही गोटीहरू चाल्नका लागि उहाँ जुनसुकै हदमा जाने खतरा पनि छ ।’

उनले ढिलै भए पनि प्रतिनिधिसभा पुनस्र्थापना हुने र सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गर्ने दाबी गरे । तथ्य, तर्क र प्रमाणले पुनस्र्थापना हुने कुरामा आशंका गर्ने ठाउँ नभएको उनले बताए । यद्यपि, संसद् पुनस्र्थापना नै भए पनि ठूलो खेल चलिराखेको गन्ध आफूले पाएको उनले बताए । पुनस्र्थापनाले मात्रै समस्याको समाधान नहुने भन्दै प्रचण्डले पुनस्र्थापित संसद् नहुनुभन्दा पनि नराम्रो स्थितिमा हुने आशंकासमेत व्यक्त गरे । अझै पनि ढुक्क हुन सक्ने अवस्था नरहेको उनले बताए । 

उनले भने, ‘आज पनि म भन्छु संसद् पुनस्र्थापना हुन्छ । त्यति मात्रै होइन, शेरबहादुरजीकै नेतृत्वमा सरकार गठन गर्न परमादेश जारी पनि हुन्छ भनेर म भन्छु । अदालतले गर्छ किनकि संविधानको व्यवस्थाअनुसार हाम्रो परम्परा र नजिरअनुसार त्यसो नहुनुपर्ने कारण नै छैन । संसद् त पुनस्र्थापना हुन्छ । सबै तथ्य, तर्क, प्रमाण, नजिर सबै हेर्दा संसद् पुनस्र्थापना हुने कुरामा आशंका गर्ने ठाउँ त छैन । तर, म अझै विश्वस्त हुन सक्या छैन । अझै पनि एउटा खेल अलि ठूलै चलिराखेको पनि गन्ध आउँछ मलाई । अझै पनि पुनस्र्थापना नै गरे पनि त्यो पुनस्र्थापना, पुनस्र्थापना नहुनुभन्दा पनि रद्दी हुन पनि सक्छ । पुनस्र्थापनाले मात्रै समस्याको हल नहुन पनि सक्छ । त्यसो भएको हुनाले हामीले सतर्कता अलिकति पनि छुटाउनुहुने या भैहाल्छ पुनस्र्थापना, सरकार त बनिहाल्छ भनेर ढुक्क हुने स्थिति बनिसकेकोजस्तो मलाई फिलिङ छैन ।’

प्रचण्डले सरकार अवैधानिक र असंवैधानिक भएको भन्दै यस सरकारले गरेका सम्पूर्ण संवैधानिक निकायहरूमा गरेका नियुक्तिलाई गठबन्धनको सरकारले खारेज गर्ने बताए । ओली सरकारले गरेको निर्णय खारेजी गरेर मान्यता स्थापित हुने गरी पुनर्नियुक्ति गरिने उनले बताए । 

उनले भने, ‘यत्रो अवैधानिक सरकार छ । असंवैधानिक सरकार छ । उसले गरेका सबै काम, कारबाहीहरू कुनै मूल्य, मान्यतामा छैनन् । सबै अनैतिक छ । भ्रष्ट छ । गरेका नियुक्तिहरू अवैधानिक छन् । ती खारेजयोग्य छन् । गठबन्धनको तर्फबाट कुनै अवैधानिक ढंगले, असंवैधानिक ढंगले, अलोकतान्त्रिक ढंगले गरेका सबै नियुक्तिहरू खारेज गरिनेछ । मानिँदैन तिनलाई । कुनै हालतमा मानिँदैन । संवैधानिक नियुक्तिहरू पनि नाटकीय ढंगले, षड्यन्त्रमूलक ढंगले गरिएका छन् । मैले न्याय क्षेत्रका साथीहरूसँग पनि लगातार छलफल गरेको छु । यी सबै खारेज गरिनुपर्छ र मान्यता स्थापित हुने गरी पुनर्नियुक्ति गर्न जरुरी छ ।’

प्रचण्डले सरकार कोभिड– १९ को महामारीबाट जनतालाई जोगाउन गम्भीर नरहेको पनि बताए । कमिसनको ध्यानमा लागेर कोभिडविरुद्धको खोप सरकारले ल्याउन नसकेको भन्दै उनले गठबन्धन सरकारको पहिलो प्राथमिकता कोभिड– १९ र विपत्तिहरूबाट जनताको जीवन रक्षा गर्ने नै हुने बताए ।