यस्तो छ आजबाट लागु भएको लुजडाउनको मोडल

काठमाडाैं । काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा आज (मंगलबार)देखि जोरबिजोर प्रणाली हटाइएको छ। यसअघि जोरबिजोर प्रणाली लागु गर्दै २५ सिट क्षमताका सार्वजनिक सवारी साधनहरु चल्न दिइएको थियो।

तर आजदेखि निषेधाज्ञा खुकुलो पार्दै जोरबिजोर प्रणाली हटाइएको छ भने माइक्रो, टेम्पोलगायतका सवारी साधन पनि चल्न दिइएको छ। सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढि यात्रु राख्न नपाइने र मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने जिल्ला प्रशासनहरुले जारी गरेकाे सूचनामा उल्लेख छ।

सवारीको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने र सवारीलाई निसङ्क्रमित गर्नुपर्ने छ भने मास्क नलगाएका यात्रुलाई चढाउन पाइने छैन। सफा टेम्पो र तथा निलो माइक्रोबसलाई पछाडिको तेर्सो सिटमा चार/चार र चालकको छेउमा एक गरी नौ जना मात्रै यात्रु राख्न भनिएको छ ।

गाडीको बीचमा दुइतर्फ यात्रु छुट्याउने गरी प्लाष्टिकको छेकबार लगाउनु पर्नेछ । सार्वजनिक तथा निजी निर्माणका लागि सामग्री ढुवानीका सवारी साधान बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्नुपर्ने छ ।स्थानीय प्रशासनको अनुमतिमा विशेष कामका लागि बाहिरका सवारी साधानसमेत भित्रिने पाउने व्यवस्था यसपालि छ।

आदेशमा भीडभाड हुने बाहेकका अधिकांश व्यवसाय साँझ ६ बजेसम्मका लागि खुला गरिएको छ। सभा, सम्मेलन, सिनेमा हल, होटल, पार्टी प्यालेसलगायत दर्शकसहित भीडभाड हुने सबै प्रकारका गतिविधिमा भने पूर्ण रोक लगाइएको छ।

यस्तै पार्टी प्यालेसमा हुने विवाह, व्रतबन्धलगायत सामूहिकरूपमा गरिने कार्यक्रम, नित्य पूजाबाहेक सबै धार्मिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठपाठनका गतिविधिसमेत गर्न पाइने छैन। स्थानीय ढुवानीका साधन बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने तर औषधि तथा स्वास्थ्य सामग्री पसल जुनसुकै बेला खुला रहनेछ। अत्यावश्यक बस्तुको अनलाइन ‘अर्डर’, रेष्टुरेन्ट तथा फाष्टफुड एवं अन्य अर्डरको टेकअवे र होमडेलिभरी साँझ ७ बजेसम्म गर्न पाइने छ ।

पूर्वनिर्धारित सबै किसिमका लिखित तथा प्रयोगात्मक परीक्षा शर्त पालना गरी सञ्चालन गर्न सकिने छ । त्यसरी परीक्षा सञ्चालन गर्दा हल तथा कोठाको आधारमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले खुकुलो निषेधाज्ञालाई असार ३१ गतेसम्म जारी राखेका छन्।