दुईमहिने शिशुको दुई पटक अपहरण

काठमाडाैं । भारतको पश्चिमी राज्य गुजरातमा दैनिक ज्यालादारी गर्ने दम्पतीका एक दुईमहिने शिशु दुई पटक अपहरणमा परे। बीबीसी गुजरातीका भार्गव पारिखले त्यसको कारण खोतलेका छन्।

“अब म मेरो छोरालाई एक छिन पनि छाड्दिनँ,” गुजरातको गान्धीनगरमा बस्ने एक गरिब श्रमिक मीना वादीले भनिन्। ती पच्चीस वर्षीया महिला दुई महिनाअघि आफ्नो छोरा दुई पटक अपहरणमा परेको कुराले अझै त्रस्त छिन्।

अबोध शिशुलाई लिएर अस्पतालबाट घर फर्किएकै दिन एप्रिल १ मा मीनाका छोरा हराए। उनका अनुसार सुत्केरी भएको अस्पतालमा आफूलाई नर्स बताउने एक महिला घरमा आएर शिशुले खोप लगाउनुपर्ने बताएकी थिइन्।

त्यसपछि मीना छोरालाई लिएर उनीसँगै अस्पताल गइन्। ती महिलाले खिच्नुपर्छ भन्दै मीनालाई पर्खिन आग्रह गरेर बच्चालाई कतै लगिन्। घण्टौँ बित्दा पनि ती महिला नआएपछि मीना अत्तालिएर उनलाई खोज्न थालिन्। “म अत्तालिएको देखेर सुरक्षा गार्डले कारण सोधे। मैले बताएपछि उनीहरूले प्रहरीलाई खबर गरे,” उनले भनिन्।

महिला तथा बालविकास मन्त्रालयका अनुसार गत वर्ष भारतमा ४३,००० भन्दा धेरै बालबालिका हराएका थिए। सरकारी विवरणअनुसार गुजरातमा ३,५०० जति बालबालिका बर्सेनि हराउँछन्।

विपन्न अभिभावकहरूले हराएको उजुरी बिरलै दर्ता गर्ने भएकाले सङ्ख्या अझ बढ्ता हुनसक्ने बालअधिकारकर्मीहरू बताउँछन्। तर मीना र उनका श्रीमान् कानुले तत्कालै प्रहरीमा उजुरी दिए।

कसरी गरियो खोजी?

खोजबिनको अनुसन्धान गरेका प्रहरी निरीक्षक एचपी जला भन्छन्, “मीनालाई ती महिलाबारे केही पनि थाहा थिएन, उनको नाम समेत थाहा थिएन। उनले बच्चा लैजाने महिला कस्ती थिइन् भनेर पनि भन्न सकिनन्।”

प्रहरी टोलीले अस्पताल आसपासका सीसीटीभी फुटेज हेर्‍यो। त्यहीँबाट सबैभन्दा पहिले उनीहरूले सन्दिग्ध अपहरणकर्ताबारे केही सुइँको पाए। एउटी महिला आफ्नो सारीमा केही लुकाउँदै मूल बाटोतर्फ लम्किरहेको देखियो।

के त्यसमा मीनाका छोरा थिए? त्यो सहजै भन्न सकिने अवस्था थिएन। झन्डै ५०० जना रिक्साचालकसँग सोधपुछ गरेपछि उनीहरूले के भएको थियो भन्ने हेक्का पाए। दृश्यमा देखिएकी तिनै महिलाले एउटा रिक्सालाई नजिकैखो गाउँमा लगेकी थिइन्।समाचार बीबीसीबाट