दाजूसँग वासनात्मक प्रेम बसेको कारण सुजिताको मृत्यु

चितवन ।  सुजिता भण्डारी मृत्युको अनुसन्धान गरिरहेको प्रहरीले घटनाबारे नयाँ निचोड पत्ता लगाएको छ ।

जस अनुसार नातामा दाजु पर्ने सुकदेव भण्डारीसंग वासनात्मक प्रेम उनको मृत्युको कारण भएको पत्ता लागेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानले यस्तो देखाएको हो । प्रहरीले झापाको झापा गाउँपालिका–६ शरणामतिका २३ वर्षीय सचिन भनिने सुकदेव भण्डारीलाई पक्राउ गरेपछि उनीहरुको सम्बन्ध सार्वजनिक भएको हो ।

सुकदेव नातमा सुजिताको ठूलो बाको छोरा हुन् । उनीहरु दाजु बहिनी भएपनि प्रेम सम्बन्धका रहेको अनुसन्धनमा खुलेको प्रहरीले जनाएको छ । प्रेम सम्बन्धमा रहेका उनीहरु एक अर्कासंग टाढिएर बस्न नसक्ने जनाउँदै सुजिताले विवाह प्रस्ताव गरेको र सुकदेवले अस्विकार गरेपछि घटना भएको प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए ।

असार ९ गते उनीहरुबीच विवाहका बिषयमा विवाद हुँदा सुजिताले ‘विवाह नगरे मर्छु’ भनेको र सुकदेवले ‘जे गर्ने हो गर’ भनेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जानकारी दिएको छ ।

सुजिताकी आमा अम्बिका भण्डारीको जाहेरीपछि सुकदेवलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । गत असार ११ गते घरबाट हराएकी सुनिता २० गते घर नजिकैको ब्रह्मस्थानी सामुदायीक वनमा मृतावस्थामा भेटिएकी थिइन् ।

मृतक सुजिताको भिसेराको नतिजा आउन बाँकी रहेको छ भने सुकदेव विरुद्ध आत्महत्या दुरुत्साहन अभियोगमा मुलुकी अपराध संहिता २०७४ परिच्छेद १२ ज्यानसम्बन्धि कसूर अन्तर्गत दफा १८५ मा पाँच वर्ष कैद र रु ५० हजारसम्म जरिवानाको माग दाबी प्रहरीले गरेको छ ।