माधव नेपालले ओलीलाई महाराजधिराजको संज्ञा दिएपछि…

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई महाराजधिराजको संज्ञा दिएका छन् । उनले ओलीलाई महाराजधिराज भन्दै व्यङ्ग्य गरेका हुन् । ओलीले स्पष्टीकरण सोधिएका सांसद्लाई ‘माफी दिइएको छ’ भन्ने अभिव्यक्ति आएको भोलिपल्टै नेपालले व्यंग्य गरेका हुन्।

उनले माफी दिने ओलीलाई महाराजधिराज भन्दै आफूहरु माफी पाएर गद्‌गद् भएको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको प्रवचन कार्यक्रममा बोल्दै नेता नेपालले ओलीप्रति कटाक्ष गरेका हुन्। ‘हिजो महामहिम श्री ५ महाराजधिराजबाट अभिव्यक्ति आयो- माधव नेपाल लगायत माननीय सदस्यहरुमाथि सोधिएको स्पष्टीकरण छ, त्यसलाई आम माफी दिइन्छ। एम्नेस्टी इज ग्रान्टेड। हामी कति गदगद भयौं। महाराजधिराज उवाच। हामी गदगद् भयौं। वाह वाह वाह। महाराजधिराज कति खुसी भएछन्। हामीलाई आम माफी मिलेछ। नाच्नुपर्ने भयो। खुसी हुनुपर्ने भयो’, नेपालको भनाइ थियो।

उनले प्रम हुँदा बिग्रेको ओलीको प्रवृत्ति नसुध्रिएको पनि बताए। ‘त्यही हो प्रवृत्ति? यसैलाई कम्युनिस्ट प्रवृत्ति भनिन्छ? स्पष्टीकरण  सोध्नु गल्ती भयो। मैले त्यो हतार गरेँ। त्यो मैले फिर्ता लिएको छु भन्दिएको भए के हाइट घट्थ्यो? मर्यादा कम हुन्थ्यो?’ उनको प्रश्न थियो।

नेता नेपालले ओलीको प्रवृत्ति ‘रस्सी जल्यो, तर गाँठो उस्तै’ भनेजस्तै रहेको बताए। उनले ओली आज सुध्रिन्छन् कि भोलि सुध्रिन्छन् कि भनेर प्रतीक्षा गरिरहेको पनि बताए।

बिहीबार पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा ओलीले स्पष्टीकरण सोधिएका सबैलाई माफी दिइएको बताएका थिए। ‘बाटो बिराएका, भड्किएका साथीहरुलाई पनि म आग्रह गर्न चाहन्छु, आज पुष्पलाललाई सम्झेर म भन्न चाहन्छु, यस पार्टीको, यस आन्दोलनको एकताका लागि सबैलाई एम्नेस्टी इज ग्रान्टेड। जेसुकै भएको होस्, एम्नेस्टी। आउनुस् मिलेर काम गरौं। म आग्रह गर्न चाहन्छु’, उनको भनाइ थियो।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ सांसद्लाई नेकपा एमालेको ओली पक्षले स्पष्टीकरण सोधेको थियो। गत साउन ४ गते बसेको केन्द्रीय  कमिटीको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरे पनि उनीहरुलाई ६ गते मात्रै पत्र पठाइएको थियो। २४ घण्टे स्पष्टीकरण सोधिएकोमा त्यसको जवाफ नआउँदै ओलीले माफी दिएको बताएका हुन्। तर, हिजै सकिएको केन्द्रीय कमिटीले स्पष्टीकरण  फिर्ता लिने सम्बन्धमा कुनै निर्णय गरेको छैन। बरु पार्टी एकता प्रक्रियालाई निरन्तरता दिने निर्णय गरेको छ।