जेठाजुद्वारा बुहारीको हत्या

वीरगञ्ज । खेतमा कमाएर ल्याएको पैसाको विषयमा विवाद हुँदा बाराको महागढीमाई नगरपालिकामा एक महिलाको हत्या भएको छ।

महागढीमाई नगरपालिका–७ तेलकुवा नवासी सुखाडी पासवानकी श्रीमती मैनादेवीको हत्या भएको प्रहरीले जनाएको छ।

उनको हत्या जेठाजु सिंघासन पासवानले गरेको बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए। शुक्रबार राति ८ बजे खेतमा कमाएर ल्याएको पैसाको विषयमा विवाद हुँदा जेठाजु सिंघासनले भाइबुहारी मैनादेवीलाई भाटा प्रहार गरेका थिए।

भाटा प्रहारबाट मैनादेवीको घटनास्थलमै मृत्यु भएको थियो। हत्यामा संलग्न रहेका आरोपित सिंघासन भने फरार छन्। उनको खोजी भइरहेको प्रहरी उपरीक्षक शाहीले बताए।