तत्काललाई टर्यो कांग्रेसको सबै तहका अधिवेशन

काठमाडौँ । नेपाली कांग्रेसका सबै तहका अधिवेशन स्थगित भएका छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानलिकण्ठमा शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले उक्त निर्णय गरेको नेता अर्जुननरसिंह केसीले जानकारी दिए।

मंगलबार क्रियाशिल सदस्यता छानविन समितिले प्रतिवेदन बुझाएपछि महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने भएको छ।

मंगलबार वडा तहदेखि अधिवेशन सुरु हुने पूर्व निर्धारित कार्यतालिका भए पनि क्रियाशिल सदस्यता नटुंगिएको र निर्वाचन समितिले पनि काम पूरा नगरेपछि महाधिवेशनको कार्यतालिका हेरफेर हुने भएको हो।

क्रियाशिल सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकका अनुसार अधिवेशन करिब १० दिने सर्ने देखिएको छ। कांग्रेस महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म हुने कार्यतालिका थियो।

निर्धारित कार्यतालिकाअनुसार गाउँ/नगर वडा अधिवेशन यही साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गतेका लागि तोकिएको थियो।

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते हुने कार्यतालिका थियो। त्यस्तै प्रदेश अधिवेशन भदौ १ र २ गतेका लागि निर्धारित थियो।