ओली विक्षिप्त भएकाले उनलाई बरबराउन छुट छ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कार्यकर्ताले राम्ररी चिनिसकेकाले उनको साथ छोड्न थालेको बताएका छन्। शनिबार राजधानिमा आयोजित एक कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन्।

‘ओली नराम्रोसँग इतिहासमा एकचोटि पछारिएका छन्। विक्षिप्त छन्। त्यही कारण उहाँलाई बरबराउन छुट छ,’ उनले भने, ‘कहिले बालकोटको बार्दली, कहिले कहाँ पुगेर बरबराउन थालेका छन्।’ प्रचण्डका अनुसार ओलीलाई उनकै समर्थक कार्यकर्ताले समेत छोडेर जान थालेको कारण यो बरबराहट पनि धेरै समय अघि बढ्दैन।

ओलीका समर्थक साच्चै हनुमान नै रहेछन् भन्दै प्रचण्डले भने, ‘जसलाई उनले आफ्नो हनुमान ठान्छन्, त्यो हनुमान पनि नेत्रायुगका हनुमान त होइनन्, कलियुगका हनुमान हुन्। धेरै बोक्दैनन्। त्यो दिन आउँछ भन्ने देख्छु मैले।’ हनुमानले धेरै बोक्दैनन् अनि त्यो बरबराहट पनि बन्द हुने दाबी उनको छ।

ओली सरकारले बिगारेका विषयलाई लाइनमा ल्याउने र जनताको पक्षमा दिनदिनै केही काम गरेर देखाउने चुनौती वर्तमान गठबन्धन सरकारलाई रहेकाले त्यसमा मन्त्रीहरू दत्त चित्त भएर लाग्‍न पर्ने सुझाव र निर्देशन उनले दिए। कुनै मन्त्रीले लापरवाही गरेको र बाहिर उनीबारे प्रचार भएमा त्यस्ता मन्त्रीलाई छुट नदिने उनले बताए।