कांग्रेस र कम्युनिष्टबीच भिन्नता छैन : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताको रोजाइमा राप्रपा रहनुपर्ने बताएका छन्। काठमाडौंको क्षेत्र नं ५ मा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष थापाले मुलुकमा व्याप्त विकृती, विसंगति र बेथिति अन्त्यका लागि पनि जनताले राप्रपा रोज्नैपर्ने धारणा राखेका हुन्।

कांग्रेस र कम्युनिष्टबीच वैचारिक, चरित्रगत, नीतिगत कार्यशैलीमा भिन्नता नरहेकोले कांग्रेस र कम्युनिष्टको विकल्प राप्रपा मात्र हुन सक्ने उनको दाबी छ। १४ वर्षअघि आमुल परिवर्तनको नाममा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता षड्यन्त्रमुलक ढंगले लादिएको उनले बताए।

अध्यक्ष थापाले धर्मनिरपेक्षताको आडमा संगठित र योजनाबद्ध रुपमा सनातन धर्ममाथि आक्रमण भइरहेको बताउँदै प्रमुख नेताहरुको अकर्मण्यताले विदेशी चलखेल बढेको दाबी गरे। नेपालीको पहिचान, राष्ट्रिय एकताको आधार, समाज, राष्ट्र र परिवार सञ्चालन गर्ने आधारलाई नष्ट गरेर विदेशी संस्कृति र धर्म लाद्ने काम भएको अध्यक्ष थापाले आरोप लगाए।

पार्टीको महाधिवेशन र स्थानीय तहको निर्वाचनको तयारी तीव्र पार्न कार्यकर्ताहरुलाई निर्देशन दिँदै थापाले संगठन सुदृढीकरण, सक्रिय सदस्यता वितरण अभियान र जनताको सुखदु:खमा उच्च प्राथमिकता साथ काम गर्न आग्रह गरे।