बेचिनबाट बचेका बालिकाहरूको ओरेक नेपालको धम्कीपछि बयान फेरियो

महोत्तरी । भारतको मुम्बई शहरमा बेचिन लैजाँदै गरिएका सात बालिकालाई उद्धारपछि ओरेक नेपालले धम्की दिएर बयान फेर्न लगाएको बालिकाका आफन्तले आरोप लगाएका छन् । उनीहरूलाई प्रलोभनमा पारेर ओरेक नेपालले बयान फेर्न बाध्य पारको बुझिएको छ ।

गत चैत १७ गते महोत्तरीको भङ्गाहा नगरपालिका–८ स्थित धर्मपुरका सात किशोरी एकाएक हराए थिए । यद्यपि भोलिपल्टै भारत बिहारको सितामढीमा भेटिएका ती किशोरी हराएको घटनाले चार महिनापछि आएर नयाँ मोड लिएको छ ।

टिकटक हेरेर गायिका बन्न भारततर्फ गएको भनिएका भङ्गाहा–८ स्थित धर्मपुरका सात किशोरीलाई बेच्ने उद्देश्यले योजनाबद्ध तरिकाले भारत पुर्‍याइएको रहस्य युवतीका आफन्तले खोलेका छन् । साथै आफ्ना बालिकालाई कसले, कहाँ र कसरी लैजाँदै गरेको बारेमा कोहीकसैलाई केही पनि नबताउन ओरेक नेपाल महोत्तरीका प्रमुख लीला दियालीले धम्की दिएको उनीहरुको आरोप छ ।

उनीहरुले ओरेक प्रमुख दियालीले प्रहरी र अपहरणकर्तासँग मिलेर मोटो रकम खाएर आफ्ना बालबालिकालाई कसैलाई केही भनेमा ज्यान मार्नेसम्मको धम्की दिएको आरोप लगाएका छन् ।

घाँस काट्ने बहानामा चैत १७ गते आ–आफ्ना घरबाट निस्केका स्थानीयवासी १२ वर्षीयाद्वय सीमा पासवान र रञ्जना पासवान, १३ वर्षीया ज्योति पासवान, १४ वर्षीया रिया, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान र २० वर्षीया अस्मिता पासवान वनबाट अचानक हराएका थिए ।

भारतको मायानगरीको नामले चर्चित मुम्बई जाँदै गर्दा हराएको भोलिपल्ट बिहार राज्यस्थित सीतामढी रेल्वे स्टेशनबाट भारतीय प्रहरीको उच्च सतर्कताको सहायताले उनीहरूको उद्धार गरिएको थियो ।

उद्धार गरिएकीमध्ये अर्चनाकी दिदी कलाकारसमेत रहेकी पूजा पासवानले उनीहरूलाई जनकपुरधाम उपमहानगरपालिका–९ बस्ने जितेन्द्र पासवानले प्रलोभनमा पारी भारतर्फ योजनाबद्धरूपमा बेच्न लगेको आरोप लगाएकी छन् । घटना भएलगत्तै स्थानीय जनप्रतिनिधिसँगै प्रहरी प्रशासनले पनि ती किशोरी अपहरणमा परेको आशङ्का गरेका थिए ।

अपहरणमा पूजाको नै संलग्नता हुनसक्ने आशङ्का पनि उनीहरुको थियो । घटनाबारे थाहा पाएलगत्तै प्रहरीले पूजामाथि सूक्ष्म निगरानी राख्दै हराएका किशोरीको खोजीमा निस्केको थियो । हराएको भोलिपल्ट भारतीय प्रहरी, भारतीय एसएसबी र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको समन्वयमा उनीहरू भारतको सीतामढीबाट रेल चढ्न लागेको बेलामा उद्धार गरिएको थियो ।

यद्यपि अनुसन्धानका क्रममा महोत्तरी प्रहरीले घटनामा कसैको संलग्नता नदेखिएको बताएपछि प्रहरीको अनुसन्धानमा समेत प्रश्न उठेको थियो तर चार महिनापछि आएर त्यतिखेरको नाटकको पर्दाफास भएपछि घटनाले अर्कै मोड लिएको छ ।

गाउँबाहिर कहिले पनि कतै नगएका ती किशोरी आफैँले कसरी सीमामा सशस्त्र प्रहरीलाई छक्याएर समूहमै मुम्बई जाने योजना बनाउन सक्छन् भन्दै स्थानीयवासीले त्यतिखेर प्रश्नसमेत उठाएका थिए ।

महोत्तरी प्रहरीसँगै ओरेक नेपालकी अधिकृत दियालीले समेत टिकटक भिडियो देखेर ती किशोरी मुम्बई जाँदै गरेको बयान दिएको बताएकी थिइन् तर पीडितका आफन्तले आफ्ना बालिकालाई विभिन्न धम्की र लोभलालच दिएर ओरेक नेपालले अपराधीसँगको साँठगाँठमा बयान फेर्न लगाएको नाम नछाप्ने शर्तमा एक बालिकाकी आमाले छोरीको भनाइलाई अघि सार्दै दाबी गरेकी छन् ।

उनीजस्तै सातै जना बालिकाका आफन्तले ओरेक नेपालले काउन्सिलिङको बहानामा आफ्ना बालबालिकालाई कसैले सोधेमा आफूले भनेजस्तै कुरा मात्रै भन्ने र अरु कुरा भनेमा तिमीहरुलाई प्रहरीले जेलभित्र हालिदिनेसमेत धम्की दिएको उनीहरुको आरोप छ ।

यता सातै किशोरीलाई करिब एक सातासम्म काउन्सिलिङ गरेका ओरेक नेपालकी अधिकृत दियालीले आफूहरूले उनीहरूलाई मनोपरामर्श सेवा दिएको र कुनै धाकधम्की नदिएको दाबी गरेकी छन् । उनले आफूहरू अनुसन्धान गर्ने निकाय नभएकाले घटनामा अर्को पक्षको संलग्नताबारे पनि कुनै जानकारी नरहेको बताइन् ।