पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

काठमाडौं । नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्का एक चिरपरिचित नाम हो । उनले नेपाली क्रिकेटका लागि दिएको योदान अतुलनीय छ । उनै क्रिकेटर पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । लामो समय नेपाली राष्ट्रिय टोलीको कप्तानी गरेका खड्काले मंगलबार वक्तव्य जारी गरेर अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

उनले वक्तव्यमा लेखेका छन्, ‘सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले सन्यास लिने निर्णय लिएको छु ।’ खड्काले अघि लेखेका छन्, ‘नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धी हो । सन् २००२ मा १५ वर्षको हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरु, साथी खेलाडीहरु, प्रशंसकहरु, सरोकारवालाहरु, मिडियाकर्मी, मेरो परिवार र साथीहरुप्रति सदैव ऋणी रहनेछु ।’

उनले भनेका छन्, ‘मेरो जीवनमा मैले देखेको सपना भनेको नै नेपाली क्रिकेटको उन्नती हो तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरुको संयुक्त प्रयासको आवश्यकता छ । इमानदारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्य पनि एउटा नयाँ उचाइमा पुर्‍याउनेछौँ ।’

अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा आफ्नो यात्रा पूरा भए पनि नेपाली क्रिकेटका लागि आफ्नो सपना भने अझै बामे सर्दै गरेको खड्काले उल्लेख गरेका छन् । खड्काले लेखेका छन्, ‘मैदान भित्रका यी दुई दशक, जीवन रहुन्जेल, मिठो यादका रुपमा मसँग रहनेछन् । हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने छौँ भन्ने विश्वास लिएको छु ।’