ओली नेपालबीच वार्ताको हाउगुजी, नेपाल पक्ष भन्छ हामीलाई थाहा छैन

काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज ‘वान टु वान’ भेटवार्ता हुने भनिएको छ। आजका लागि दुई शीर्ष नेताबीच भेट हुने तय भएको एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङले सोमबार साँझ जानकारी दिएका थिए ।

नेता नेम्बाङले भने,‘मंगलबार उहाँहरू वान टु वान संवाद गर्दै हुनुहुन्छ, स्थान र समय तय भएको छैन, मंगलबारनै त्यो टुंगो गर्छौं।’ तर, माधव पक्षका नेताहरूले त्यसको पुष्टि गर्न मानेनन्। स्थायी कमिटी सदस्य रघुजी पन्तले भेट हुने भन्ने सञ्चार माध्यमबाट सुनेको प्रतिक्रिया दिए। ‘आज भेट हुने कुरा हल्ला चलेको छ, मैले पनि सञ्चार माध्यमबाट थाहा पाएँ’ पन्तले भने।

त्यस्तै माधव नेपालका विश्वासपात्र विरोध खतिवडाले पनि आफूलाई दुई नेताबीच भेट हुनेबारे केही थाहा नभएको जानकारी दिए। ‘मलाई थाहा छैन, हिजो अबेरसम्म यस्तो वातावरण बनेको थिएन, आज कसरी यस्तो अवसर जुटाइयो थाहा भएन।,’ खतिवडाले भने।

सोमबार बसेको माधव पक्षको स्थायी कमिटी बैठकले दुई नेताबीच संवादको वातावरण बनाउने निष्कर्ष निकालेको थियो। एमाले पार्टीको विवाद समाधान सतहसम्म आइपुगेको छ। दोस्रो तहका नेताहरू पार्टीलाई एकतावद्ध बनाउनका लागि नेताहरु निरन्तर प्रयासरत पनि छन्।  विगत लामो समयदेखि शीर्ष नेताबीच भेट गराएर छलफल गराउने दोस्रो तहका नेताहरुको प्रयास सफल हुन सकेको छैन।