नेता नेपालद्वारा एमाले विभाजनको तयारी

काठमाडौं । एमाले नेता माधव नेपाललले एमाले विभाजनको तयारी गरेका छन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आज आफूपक्षीय केन्द्रीय सदस्यको बैठक डाकेका छन् ।

नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकताका लागि अन्तिम प्रयासका लागि प्रस्ताव तयार गर्न डाकेको बैठक महत्वपूर्ण हुने ठानिएको छ ।

नेपाल पक्षले बैठकमार्फत् वार कि पारका लागि रणनीति बनाउने बुझिएको छ । यसअघि नेपाल पक्षले आफू पक्षीय केन्द्रीय सदस्यहरुको हस्ताक्षर समेत संकलन गरिसकेको छ ।

नेकपा एमालेको नवौं महाधिवेशनबाट गठन भएको २०३ केन्द्रीय सदस्य रहेका छन् । जसमध्ये नेपाल पक्षमा ८० भन्दा बढी रहेको बुझिएको छ । ४० प्रतिशत केन्द्रीय सदस्य पुर्याएर नेपालले ओलीमाथि दबाब बढाउँदैछन् ।

ओलीलाई अन्तिम एकपटक प्रस्ताव गर्ने र त्यसमा सहमति नबने नेपाल छुट्टै पार्टी गठन गर्ने गरी बढ्ने तयारीमा पुगेका छन् । उनले आफू पक्षीय स्थायी कमिटी सदस्यहरुलाई डाकेर अन्तिम एकपटक प्रयास गर्ने र कुरा नमिले भावी कदममा साथ दिन भनेका थिए । त्यस बमोजिम प्रस्ताव तयार गरी ओलीसँग उनले अन्तिम पटक कुराकानी गर्ने समेत निकट स्रोतले बताएको छ ।

ओलीले माधव नेपाललाई एमालेमा स्थान नभएको बताएबाट एकताको सम्भावना कमजोर छ । त्यसैले नेपाल एमाले विभाजनसम्मको तयारीमा पुगेका छन् । उनले ४० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षर संकलन गरिसकेको बुझिएको छ ।