बाइडेन भन्छन्, तालिबानले अमेरिकी नागरिक र सैनिक उद्धारका लागि सहयोग गरेको छ

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले तालिबानहरुले हाम्रा मानिसहरुको उद्धारका लागि सहयोग गरेको बताएका छन् । उनले अमेरिकी नागरिक र सैनिक फिर्ता गर्न तालिवानले मद्दत गरिरहेको बताएका हुन् ।

त्यसका साथै बाइडेनले समयसीमा भित्रै अफगानिस्तानमा जारी उद्धार तथा सैनिक फिर्ती प्रक्रिया पूरा गर्ने बताएका छन्।

सहयोगी देशहरुबाट समयसीमा बढाउन गरिएको आग्रह गरे पनि बाइडेनले भने अगस्ट ३१ मै प्रक्रिया पूरा गर्ने गरि काम भइरहेको बताएका हुन्।

उनले भनेका छन्, ‘जति चाँडो सक्यो त्यति नै राम्रो।’ अमेरिकी सैनिकहरुको समूह फर्किने क्रम जारी छ वा केही फर्किसकेका छन्। तर उद्धार प्रक्रिया भने प्रभावित नरहेको सञ्चारमाध्यमहरुले बताएका छन्।

अगस्ट १५ मा तालिबानले काबुल नियन्त्रणमा लिएयता हामिद कारजाई विमानस्थलबाट कम्तीमा ७० हजार ७०० जनाको उद्धार भएको छ ।
तालिबानले तोकिएको समय सीमा भन्दा पछिसम्म बसेमा त्यसले यसअघिको सहमति उल्लंघन हुने बताएको छ।

राष्ट्रपति बाइडेनले भनेका छन्, ‘तालिबानहरुले हाम्रा मानिसहरुको उद्धारका लागि सहयोग गरेका छन्।’

अन्तर्राष्ट्रिय समुदायले तालिबानलाई उनीहरुका गतिविधिका आधारमा मूल्यांकन गर्ने पनि उनले बताएका छन् । उनले भने, ‘हामी कोही पनि तालिबानको भनाईमा विश्वास गर्ने छैनौँ । उनीहरुको गतिविधिकै आधारमा मूल्यांकन हुन्छ ।’

इस्लामिक स्टेट (आइएस) बाट बढ्दै गएको खतराका कारण उद्धारको अभियान तीव्र पारेर चाँडो सक्नु पर्ने अवस्था आएको बाइडेनले बताएका छन् ।