डेढ महिनासम्म एमाले चोइटाउने माधव कुर्दै प्रधानमन्त्री देउवा

कााठमाडौं । एमाले चोइटाउने माधव नेपाललाई पर्खिंदै गर्दा डेढ महिनासम्म पनि प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्री परिषद् विस्तार गर्न सकेका छैनन् ।

नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्रीमा नियुक्त भएको डेढ महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । सर्वोच्च अदालतको गत २८ असारको फैसलापछि देउवा २९ असारमा प्रधानमन्त्री पदमा नियुक्त भएका थिए ।

उनले सोही दिन आफ्नो पार्टीबाट दुई र नेकपा माओवादी केन्द्रबाट दुई जना मन्त्रीलाई शपथ दिलाएर पाँच सदस्यीय मन्त्रिमण्डल विस्तार गरेपछि पुनः एक जना स्वास्थ्यमन्त्रीलाई नियुक्त गरेका छन् । त्यसयता, उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेको छैनन् ।


आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा नै मन्त्रालयहरूले नेतृत्व नपाउँदा नियमितबाहेकका अन्य कार्य रोकिएका छन् । मन्त्रालयहरूका कर्मचारी मन्त्रीको पखाइमा रहे पनि लामो समय प्रधानमन्त्रीले मन्त्री चयन गर्न सकेका छैनन् ।

नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिइसकेको छ भने आयोगले आज (बुधबार) सनाखतका लागि बोलाएको छ । प्रधानमन्त्री स्रोतका अनुसार एकीकृत समाजवादीले दलको प्रमाणपत्र पाउनेबित्तिकै मन्त्रिपरिषद् विस्तार गर्नेमा कांग्रेस र माओवादी केन्द्र छन् ।

यसअघि नै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् पूर्णता दिलाउन प्रयास गरेका थिए । राजधानी दैनिकमा समाचार छ ।  जनता समाजवादी पार्टी जसपाभित्रको विवाद, एमालेभित्रको विवाद र आफ्नै पार्टीभित्रको महाधिवेशनको विषयको टुंगो नलाग्दा मन्त्रिपरिषद् विस्तारले प्राथमिकता पाउन सकेको थिएन ।