नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले आज (बिहीबार) केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

पार्टी विभाजन भएपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । एमालेबाट विद्रोह गरि वरिष्ठ नेता माधव कुमार नेपालले एकीकृत समाजवादी पार्टी निर्माण गरेका छन् । उक्त पार्टीले बुधबार दल दर्ताको प्रमाणपत्र पाएको छ।

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले तुल्सीलाल स्मृति प्रतिष्ठानमा मध्यान्ह १२ बजे पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने जानकारी दिए ।

बैठकमा यसअघि स्थायी कमिटी बैठकले गरेका निर्णयहरु अनुमोदन हुनुका साथै पार्टी विभाजनपछि उत्पन्न परिस्थितिको समीक्षा र आगामी रणनीतिबारे छलफल हुने कार्यसूचि छ ।