पूर्व-पश्चिम राजमार्गमा यातायात सञ्चालनमा अझै सकस

नवलपरासी । लगातारकाे वर्षापछि आएकाे बाढीले डाइभर्सन बगाएर बन्द भएको पूर्व-पश्चिम राजमार्ग अझै सहज रुपमा सञ्चालनमा आउन सकेको छैन ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको गैँडाकोट-२३ स्मृति नजिक बिहीवार राति डाइभर्सन बगाएपछि बन्द भएको पूर्व-पश्चिम राजमार्ग अझै सहज रुपमा सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका सूचना अधिकारी मधुसुदन सिंहले बताउनुभयो ।

करिब २९ घण्टापछि मर्मत गरेर आज बिहान २ बजेदेखि गाडी सञ्चालनको प्रयास गरे पनि गाडीहरू सहज रुपमा वारपार हुन नसकेको सिंहले बताउनुभयो । डाइभर्सन निर्माण गरिएको भए पनि गाडीहरू दलदल र हिलोमा फस्दा सञ्चालनमा कठिनाइ भएकाे हाे ।

कतिबेलाबाट पूर्ण रुपमा गाडी सञ्चालन हुन सक्छ भन्ने एकिन नभएकाे उहाँले बताउनु भयाे । थुम्सी र भेडाबारी क्षेत्रका अन्य डाइभर्सन भने मर्मत गरिएको उहाँले बताउनु भयाे। लामो समयदेखि राजमार्ग बन्द हुँदा यात्रुहरूलाई समस्या भएको छ ।

यस्तै नवलपुरको विनयी त्रिवेणीमा रहेकाे दाउन्नेमा पहिरो खसेर बन्द भएको राजमार्ग भने पहिरो पन्छाएर एकतर्फी रुपमा सञ्चालनमा आएकाे छ ।