नेतालाई पार्टी फुटाउने र सरकार बनाउने चटारो, किसानलाई धानमा गवारो लागेर सतायो

पर्सा । नेताहरुलाई पार्टी फुटाएर सरकार बनाउने चटारो भइरहँदा पर्साका किसानलाई भने धानबालीमा गवारो लागेर सताएको छ । पर्सामा किसानले लगाएका धानखेतीमा गवारो र पातबेरुवा रोगको प्रकोप देखिएको छ । गवारो कीराको प्रकोपले धानका गुभो मर्न थालेपछि किसान चिन्तित बनेका छन् । यी रोगको प्रकोप देखिएपछि यस वर्ष धान उत्पादनमा कमी आउन सक्ने कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ।

पर्सामा ९० प्रतिशत किसान व्यावसायिक रूपमा धानबालीखेती गर्दै आएका छन्। यस वर्ष सुरुमै ४० देखि ७० दिनसम्मको अगहनी धानबालीमा सो रोगले व्यापक क्षति गरेकाले यस वर्ष कम धान उत्पादन हुने कृषिविज्ञको भनाइ छ। अन्य वर्षभन्दा यस वर्ष मनसुन चाँडै सक्रिय भई अत्यधिक पानी परेकाले किसानले सुरुमा गोडमेल गरेको धानमा आवश्यकताभन्दा बढी युरियामल प्रयोग गरेकाले सो रोग देखापरेको कृषि ज्ञान केन्द्र पर्साका बागवानी अधिकृत श्याम किशोरप्रसाद कुर्मीले बताए। 

सुरुमा पर्साको उत्तरी भेगमा देखापरेको यो रोग विस्तारै दक्षिणी भेगसम्म सरेकाले किसान पीडित हुने गरेको हो । पर्सा जिल्लाको अधिकांश ठाउँमा यो रोग देखा परे पनि कति क्षति भएको यकिन हुन सकेको छैन ।  धानमा यो रोग देखापरेपछि यसको निदान किसानले आफैँ गर्दै आएको छ ।

कृषि प्राविधिकले पनि रोग कीरा निदानका लागि औषधि छर्किन सल्लाह दिएका छन् । पर्साका किसानले बढी मात्रामा सोना मन्सुली धानखेती गर्ने भएकाले यो धानबालीमा बढी मात्रामा गवारो र पातबेरुवा रोग लाग्ने गरेको बाली संरक्षण अधिकृत समसुल हक मियाँले बताए ।

गवारो धानमा लाग्ने एक प्रमुख शत्रुजीव कीरा हो । धानमा गाँज आउनेदेखि लिएर फूल फुल्ने वा बोटको वयस्क अवस्थासम्म यसले आक्रमण गरी बर्सेनि ठूलो क्षति पुर्‍याउने गरेको किसानको गुनासो छ। कीराको प्रकोप तीव्र रूपमा फैलने भएकाले धानका बोट केही दिनमा नष्ट हुने गरेका किसानको भनाइ छ । अधिकृत हकका अनुसार कीराको संक्रमणले अहिले धानको बोट नै मर्दै गएका छन् । यसरी बोट नै मरेमा उत्पादनमा कमी आउन सक्ने सम्भावना बढी रहेको छ ।