तालिबानले गरिदियो अफगानिस्तानको पंजशीर प्रान्तमा इन्टरनेट बन्द

काबुल । अफगानिस्तानको सत्ता नियन्त्रणमा लिएको तालिबानले आफूले कब्जा लिन नसकेको उत्तर अफगानिस्तानको पंजशीर प्रान्तमा इन्टरनेट बन्द गरेको छ । तालिबान विरोधीहरुको गढ मानिएको पंजीशरलाई नियन्त्रणमा लिने तालिबानले प्रयास गरे पनि सफल हुन सकेको छैन ।

काबुलमा तालिबानको कब्जापछि भागेर पंजशीर पुगेका तत्कालीन उपराष्ट्रपति अमरुल्ला सालेहले लगातार ट्वीट गर्दै तालिबान विरोधीलाई निर्देशन दिन थालेपछि तालिबानले इन्टरनेट बन्द गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अमरुल्ला सालेहले ट्वीट गर्दै तालिबानको प्रतिरोध गरिने बताउँदै आएका छन् । उनले आफूलाई कार्यबाहक राष्ट्रपतिसमेत घोषणा गरेका छन्।

तालिबानले काबुलमा १५ अगस्टमा कब्जा गरेका थिए । तर, अहिलेसम्म पंजशीर प्रान्तलाई नियन्त्रणमा लिन सकेका छैनन् । यसअघि १९९४ देखि २००१ सम्म अफगानिस्तानमा तालिबानको सरकार रहँदा पनि पंजशीर तालिबानको कब्जा हुन सकेको थिएन ।