सबै पार्टी मिलेर चुनाव लडे पनि एमालेसँग जित्न सक्तैनन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले अरुसँग मिलेर नयाँ पार्टी गठन गर्दैमा केहि फरक नपर्ने बताएका छन् । ललितपुरमा आयोजित युवासंघको भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले अरु सबै पार्टी मिलेर पनि एमालेसँग लड्न नसक्ने बताएका हुन् ।

हालै भएको पार्टी विभाजनलाई उनले रुखबाट पात खसेको संज्ञा दिँदै भने, ‘रुखबाट एक दुई पातहरु खस्दैमा केही फरक पर्दैन । नयाँ पालुवाहरु पलाइरहेका छन् । चिन्ता लिनु पर्दैन ।’

माधव नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टीले अरु पार्टीसँग मोर्चाबन्दी गर्ने आफूले सुनेको भन्दै उनले १० वटा पार्टी मिल्दा पनि जम्माजम्मी १२० जना पुग्ने ओलीले दावी गरे ।

‘एक–एक दर्जन मान्छे भएका दश पार्टी मिल्दा कति हुन्छ ? १० दर्जन नै त भए होला नि होइन ? १२० जनाको मोर्चाले कसरी हामीसँग लड्ने ? अरु सबै जोड्न पनि एमालेको कम्मर कम्मर मात्रै आउने हुन् ।’

अबको चुनावमा एमाले नै विजयी हुने दाबी गर्दै उनले भने, ‘अबको चुनावमा एमालेको कसैसँग प्रतिस्पर्धा हुँदैन । एमालेबाट जो उम्मेदवार बन्छ, उसले जित्छ । एमालेसँग एक्लै लड्न सकिन्न भन्ने सबैलाई थाहा छ । कसैले नचिताए हुन्छ ।’