विभिन्न घटनामा संलग्न चार पक्राउ

चितवन । विभिन्न घटनामा संलग्न भएको अभियोगमा ४ जनालाई पक्राउ गरेको छ ।

मोटरसाइकल र मोबाइल पसलबाट सामान चोरी गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो ।
 
चोरीका ५ मोटरसाइकलसहित २ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२१ पार्वतीपुर बस्ने ३१ वर्षीय रोदित श्रेष्ठ र श्रेष्ठको मोटरसाइकल वर्कशपमा काम गर्ने कलैया उपमानगरपालिका–६ का ३५ वर्षीय कृष्ण साह रहेका छन् ।
 
कार्यालयले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेको हो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीका अनुसार बुलेट मोटरसाइकल २, पल्सर २२० सीसीका २, पल्सर एनएस १ बरामद गरिएको हो । 

२ थान मोटरसाइकलको भाइजर, मोटरसाइकल चोरी तथा खोल्न प्रयोग गरिने विभिन्न सामग्री मोटरसाइकलका विभिन्न किसिमका पाटपुर्जा, पुराना सामान झिकिएका मोटरसाइकल, सवारी दर्ता प्रमाणपत्र ४५ थान र विभिन्न जिल्लाका नागरिकता प्रमाणपत्रको खाली कार्ड १८ थान बरामद गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

चोरीका मोटरसाइकलमध्ये ४ वटा काठमाडौंका विभिन्न ठाउँबाट हराएको अनुसन्धानबाट खुल्न आएको अधिकारीले बताए । निज श्रेष्ठ यसअघि पनि यही अभियोगमा पक्राउ परेका थिए । उनीहरूलाई मुलुकी अपराध संहित २०७४ परिच्छेद २० दफा २४२ उपदफा २ बमोजिम ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने उनले जानकारी दिए ।

उनीहरूलाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरू गरिएको अधिकारीले बताए ।
 
यस्तै, पूर्वी चितवनको रत्ननगरमा रहेको ए टु जेड मोबाइल पसलमा चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–४ घर भई हाल पूर्वी चितवनको खैरहनी नगरपालिका–१ ज्यामिरे बस्ने २२ वर्षीय कृष्ण तामाङ र १६ वर्षीय युवक रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

उनीहरूले भदौ १२ गते मोबाइल पसलमा चोरी गरी १९ थान मोबाइल, डमी मोबाइल १२ थान, ल्यापटप १ र घडी ४ चोरी गरेका थिए । पक्राउ परेका उनीहरूको साथबाट डमी मोबाइलबाहेक अन्य सबै सामान सुरक्षित बरामद गरिएको अधिकारीले जानकारी दिए । उनीहरूलाई मुलुकी अपराध संहित २०७४ परिच्छेद २० दफा २४२ उपदफा २ बमोजिक ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना दाबी गरिएको उनले जानकारी दिए । उनीहरूलाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरू गरिएको छ ।