बाँस्कोटाले भने, ‘एमालेलाई दिएको मत बेच्नेहरु महाभ्रष्ट हुन्’

बनेपा । पूर्वमन्त्री एवं एमाले नेता गोकुल बाँस्कोटाले जनताले एमालेलाई दिएको मत कांग्रेसको पाउमा लगेर शेरवहादुर देउवालाई बेच्नेहरुले आफूमाथि प्रश्न उठाउने नैतिक हैसियत नरहेको दावी गरेका छन् ।

जिल्ला कार्यकर्ता भेलालाई शनिवार बनेपामा सम्बोधन गर्दै बास्कोटाले आफूमाथि भ्रष्टाचारको आरोप लगाउनेहरुलाई पुष्टी गर्न चुनौति दिए । बाँस्कोटाले भने– ‘ राज्यका छानविनकारी निकायलाई चुनौती दिन्छु । म कठघरामा उभिन्छु । छानविन गर । हिम्मत छ भने पुष्टि गर । जनताले एमालेलाई दिएको मत बेच्नेहरु महाभ्रष्ट हुन् । त्यस्ताले ममाथि आरोप लगाउनुको औचित्य छैन ।

उनले आफूले मन्त्री हुँदा पनि घरबाहाल बापतको रकम नलिएको बताए। ‘मन्त्री हुँदा पनि घरवहाल वापतको रकम लिइनँ । पार्टी अध्यक्षको घरमा गएर बसेको हुँ,’ बास्कोटाले भने ‘तर ममाथि आरोप लगाउनेहरु पार्टी कार्यालयको सम्पत्ति चोरेर हिड्नेहरु छन् ।

उनले जिल्लामा आफ्नो पालामा इतिहासकै धेरै विकास भएकाले कांग्रेस समेत नतमस्तक भएपछि एमालेभित्रकै केही व्यक्ति भौतिक रुपमा सिध्याउने षडयन्त्रमा समेत लागेको बताए । बास्कोटाले प्रदेशसभामा एमालेबाट जितेर नेकपा एसमा लागेका लक्ष्मण लम्साल र बसुन्धरा हुमागाईलाई अबको चुनावमा आफ्नो वडामा जितेर देखाउन चुनौति दिए ।