संसदमा अवरोधकैबीच आर्थिक अध्यादेश पेश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको निरन्तरको अवरोधबीच नै अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आर्थिक अध्यादेश २०७८ प्रस्तुत गरेका छन्।

शुक्रबारको पहिलो बैठक एमाले सांसदहरुको नाराबाजीका कारण स्थगित भएको थियो। दोस्रो बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गरेपछि सभामुखले संसदको कारबाही अगाडि बढाएका थिए। उनले नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई अध्यादेश अस्वीकारको प्रस्ताव पेश गर्न समय दिए।

सुवालले भने प्रतिपक्षको नाराबीच विरोधको सूचना पेश नगर्ने बताए। लगत्तै सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश पेश गर्न समय दिएका थिए।

नाराबाजी गरेर संसद अवरोध गरिरहेका एमाले सांसदहरुले अर्थमन्त्रीको बाटो छेकेका थिए। यद्यपि अर्थमन्त्री शर्माले दौडिएरै रोष्ट्रम पुगेर अध्यादेश पेश गरेका थिए।