एमसीसी विष भएकाले पारित हुनु हुँदैन : प्रेम सुवाल

काठमाडाैं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी सम्झौता पारित गर्नु नेपाली जनताका लागि ‘विष सरह’ हुने टिप्पणी गरेका छन् । 

नेकपा एमालेका सांसदहरूको चर्को नाराबाजीबीच शुक्रवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले विश्वलाई नै दुःख दिने नियतका साथ आएको सो सम्झौताबारे द्विविधामा नपर्न प्रतिनिधिसभाका सांसदहरूलाई समेत आग्रह गरे । 

नेपाल भ्रमणमा आएकी एमसीसी उपाध्यक्ष फातिमा सुमारप्रति संकेत गर्दै उनले अमेरिकी अधिकारीले सो सम्झौताको सम्बन्धमा सय थरी कुरा गरिरहेको उल्लेख गर्दै त्यस्ता कुरामा फस्न नहुने पनि बताए । 

‘बूढो बाघले शिकार गर्न नसकेपछि चुरा देखाउने र झम्टने कथा हामी सबैलाई थाहा छ । विष भनी थाहा पाइकन खाए के हुन्छ ? एमसीसी त्यही हो,’ उनले भने । 

सांसद सुवालले राष्ट्रघाती एमसीसी सम्झौताको विरोधमा प्रर्दशन गर्दा आफ्ना पार्टीका कार्यकर्र्तामाथि प्रहरीले दमन गरेको भन्दै सरकारको चर्को आलोचना पनि गरे ।