संखुवासभा हत्याकाण्ड प्रकरण, थप चारजना नियन्त्रणमा


विराटनगर संखुवासभाको मादी नगरपालिका खोलागाँउस्थित कार्की परिवार हत्याकाण्डको अनुसन्धानमा प्रहरीले थप चारजनालाई नियन्त्रणमा लिएको छ।

विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नविनराज राईले घटनाको अनुसन्धानका क्रममा थप चारजनालाई पक्राउ गरिएको जानकारी दिएका हुन् ।

प्रवक्ता राईका अनुसार घटनाको थप अनुसन्धानका लागि संघीय इकाई प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको टोली फेरि उम्लिङ पुगेको छ । दाहाल नेतृत्वको टोलीमा ६ जना प्रहरी छन्।

त्यसैगरि, संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदी पनि घटनास्थल पुगेका छन्। घटनास्थल पुगेको टोलीले हत्या गरिएका तेजबहादुर कार्कीका चारजना छिमेकीहरुलाई शनिबार राति नियन्त्रणमा लिएको हो । पक्राउ गरिएकाको नाम सार्वजनिक गरिएको छैन । उनीहरुलाई इलाका प्रहरी कार्यालय चैनपुरमा राखिएको छ ।

यसअघि प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेशलाई समेत पक्राउ गरेको थियो । लोकबहादुर मृतक तेजबहादुर कार्कीका भतिजा हुन्। प्रहरीको टोली घटनास्थल पुगेसँगै कार्की परिवारको हत्याप्रकरणले नयाँ मोड लिनसक्ने देखिएको छ।

हत्या गरिएकी भाउजु पर्ने रञ्जना कार्कीको मोबाइल लुकाएर राखेको पाइएपछि लोकबहादुरका भाइ नरेश उपर प्रहरीले नियन्त्रणमा लिएर छानबिन एवं सोधपुछ भइरहेको जनाएको छ । नरेशलाई नियन्त्रणमा लिएर सोधपुछ गर्न थालेपछि घटनाका बारेमा केही नयाँ तथ्य बाहिर आएकाले थप चारजनामा प्रहरीको अनुसन्धान केन्द्रित रहेको हो।

१ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार यसअघि, घटनाको अनुसन्धानका लागि १० जनाको प्रहरी टोली भने घटनास्थलमै रहेको थियो। भदौ २१ गते सोमबार बिहान तेजबहादुर कार्कीसहित उनकी आमा पार्वता, श्रीमती कमला, बुहारी रञ्जना, नाती विपिन र नतिनी गोमा कार्कीको हत्या भएको थियो।