सातवर्ष रोकिएको नागेँचा प्याखँ महानगरका मेयरले पुन : सञ्चालनमा ल्याए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सदियौंदेखि सञ्चालनमा आईरहेको कुनै पनि परम्परागत जात्रा, पर्व तथा स्थानीय कलालाई कुनै हालतमा पनि रोकिन नदिने बताएका छन् ।

पछिल्लो समयमा काठमाडौ महानगरपालिका क्षेत्रभित्र मनाईने जात्रा पर्व तथा स्थानीय जातीसँग जोडिएको नाचहरु सञ्चालन हुन छाडे पछि मेयर शाक्यले त्यस्ता कला संस्कृतिको जगेर्ना गर्न महानगरपालिका तयार रहेको भन्दै आर्थिक अभावकै कारण कुनै पनि परम्परागत साँस्कृतिक संस्कार वन्द हुन नदिने बताएका हुन् ।

आर्थिक अभावका कारण २०७० सालदेखि रोकिएको हिन्दु र वौद्ध धर्मसँग जोडिएको नागेंचा प्याखँ (नाच) मेयर शाक्यकै कारण पुन शुरु भएको छ । नाकाठमाडौं महानगरपालिका वडा नं. ७ स्थित चारुमती विहारमा नागेंचा प्याखँ (नाच) अवलोकन गर्न पुगेका शाक्यले भने,‘ ‘गुठी गहनाका धार्मिक सांस्कृतिक काम नरोकिउन भनेर हामीले २ करोड रुपैयाँ बजेट विनियोजन गरेका छौँ ।

गुँला बाजा संरक्षण र बाजा गुरुहरुको प्रोत्साहनका लागि राज्यकोतर्फबाट लगानी बढाएका छौँ । यस क्रममा पशुपति क्षेत्रमा पनि गुँला खलः रहेको जानकारी आएपछि यो समूहलाई पनि सहयोग गरेका छौँ ।’ प्रमुख शाक्यले भने, ‘गुठीयारहरुसँग समन्वय भएका सबै ठाउँमा हामी पुगेका छौँ । गुठीयारको सहभागिता भएन भने हाम्रो प्रयास अपर्याप्त हुन्छ । त्यसको संरक्षणमा समस्या हुन सक्छ । हामी सम्पदा बनाउँछौँ, जोगाउँछौँ र त्यसलाई जीवन्त बनाउने क्रियाकलापका लागि गुठीयारलाई जिम्मा लगाउँछौँ ।’
नागेंचा प्याखँ (नाच) अवलोकन कार्यक्रममा क्रममा वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोलले, नागेँचा प्याखँ अक्षय कोष स्थापना गर्न महानगरले सहयोग गर्नुपर्ने बताए ।

हरेक बर्ष यँया पुन्हीबाट सुरु भएर ३ दिनसम्म चावहिल, जय बागेश्वरीलगायतका ९ ठाउँमा नाच प्रदर्शन गर्ने परम्परा रहेको भएपनि आर्थिक अभावका कारण ०७० सालपछि नागेंचा प्याखँ (नाच)रोकिएको थियो । महानगका मेयर शाक्यले त्यसका लागि सहयोग गरेसँगै नाच यसै वर्षबाट पुनः शुरु भएको छ ।

मेयर शाक्यले नाचमा बजाइने बाद्य सामाग्री गुठीयारहरुलाई दिएर नाचको पुन सञ्चालन शुभारम्भ गरेका थिए । विहारमा नाच्नुअघि चावहिल स्तुपनजिक रहेको नास द्यः (नाचका देवता) को पूजा गरेर नाच सुरु गरिएको थियो । यो पूजा जयबागेश्वरीका गुरुजुले गराउने चलन छ ।