४ अर्ब घोटालाका दोषीलाई ५० लाख धरौटीमा छाडियो

काठमाडाैं । कर फर्छ्योट आयोगमा बस्दा राजस्व हिनामिना गरेको आरोपमा भ्रष्टाचारको मुद्दा लागेका चुडामणि शर्मा थुनछेक बहस भइरहेको छ ।

आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई भने विशेष अदालतले धरौटीमा छोडेको छ । आइतबार महत र ढकाललाई जनही ५० लाख धरौटीमा छोड्न आदेश दिएको विशेष अदालतका रजिष्ट्रार अशोककुमार क्षत्रीले बताए ।

२०७१ सालमा गठन भएको आयोगले राज्यलाई २१ अर्ब रुपैयाँ नोक्सानी पुग्ने गरी कर मिनाहा गरेर अनियमितता गरेको भन्दै महालेखा परीक्षकको कार्यालयले कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको थियो ।

महालेखा परीक्षकको कार्यालयले कर फर्छ्योट आयोगले विभिन्न व्यापारिक कम्पनीबाट ३० अर्ब ५२ करोड रुपैयाँ राजस्व असुल्नुपर्नेमा ९ अर्ब ५४ करोड रुपैयाँ मात्र उठाएर बाँकी मिनाहा गरी राज्यकोषमा हानि पुर्‍याएको ठहर्‍याएको थियो । 

तर, अख्तियारले भने आयोगका अध्यक्ष महत, सदस्य ढकाल र सदस्यसचिव शर्माविरुद्ध मुद्दा दायर गर्दा ४ अर्ब ३४ करोडको मात्र विगो दाबी गरेको थियो । अख्तियारले २०७४ साउन र २०७८ असारमा दुईपटक गरी मुद्दा दायर गरेको थियो । पछिल्लोपटक मुद्दा दायर गरेसँगै अख्तियारले आफ्नो अनुसन्धान टुंगिएको समेत बताएको थियो । 

२१ अर्ब रुपैयाँ अनियमितता भएको भनेर संवैधानिक अंग महालेखा परीक्षकको कार्यालयले किटानी गरे पनि अर्को संवैधानिक आयोग अख्तियारले भने निकै कम अभियोग दाबी लिएको थियो । त्यसमा पनि विशेष अदालतले दुई जनालाई धरौटीमा छोडेको छ ।