‘सम्पदा पुननिर्माण महानगरले गर्छ, सञ्चालनको जिम्मा समुदायले लिनुपर्छ’

काठमाडौं। काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सम्पदा पुननिर्माण महानगरले गर्ने र सञ्चालनको जिम्मा समुदायले लिनुपर्ने बताएका छन् ।

काठमाडौं महानगरभित्र भएका खड्गी समुदायका बाजा खल र गुठी गरी ७५ वटा समूहले संयुक्त रुपमा प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई सम्मान गरेको कार्यक्रममा शाक्यले यस्तो बताएका हुन् ।

कार्यक्रममा प्रमुख शाक्य र उपप्रमुख खड्गीलाई सम्मान गरिएको थियो ।

कार्यक्रम नेपाल खड्गी सेवा समितिले आयोजना गरेको थियो । कार्यक्रममा हरेक गुठीयारले प्रमुख र उपप्रमुखलाई वुद्ध मूर्ति, नाट्येश्वर मूर्तिसहित छुट्टाछुट्टै सम्मान सामाग्री प्रदान गरेका थिए ।

काठमाडौं महानगरका मूर्त अमूर्त सांस्कृतिक सम्पदा, नेपाल भाषाको संरक्षण र प्रवर्धन, बाजा गुरुहरुलाई प्रोत्साहन तथा आर्थिक अभावमा परम्परागत क्रियाकलाप बन्द हुने अवस्थामा रहेका गुठीलाई संस्कृतिको निरन्तरताका लागि आर्थिक अनुदान जस्ता कामको कदर गर्दै सम्मान गरेको हो ।

सम्मानपछि बोल्दै प्रमुख शाक्यले, काठमाडौँ महानगरभित्रका मौलिकता जोगाउन पैसाको कमी नहुने बताए । ‘सम्पदाको संरक्षण र प्रवर्धन गर्न पैसाको अभाव छैन । महानगरले लगानी गर्छ । हामीले निर्विवाद सबै मागहरु सम्बोधन गरेका छौँ । विवादमा महानगरले लगानी गर्न सक्दैन ।’

प्रमुख शाक्यले भने, ‘सम्पदा पुननिर्माण महानगरले गर्छ । सञ्चालनको जिम्मा समुदायले लिनुपर्छ । हामी सम्पदालाई पर्यटन जोडेर स्थानीयबासीको जीवन स्तर उकास्ने कार्यक्रम चलाउँछौँ ।’