सरकारले संविधान मिच्दा पनि मिडिया चुप लागेर बसे : ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमाध्यमको भूमिकालाई लिएर असन्तुष्टि व्यक्त गरेका छन्। सम्पादकहरुसँग मंगलबार भएको अन्तक्रियामा ओलीले सरकारले संविधान मिच्दा पनि मिडिया चुप लागेको आरोप लगाएका हुन्। 

‘मिडियाले आलोचना नगरेका कारण सरकारले गल्ती गरिरहेको छ’, ओलीले भने, ‘हामीलाई सञ्चारले खबरदारी गरेका कारण गल्ती कम भएको थियो। सरकारमा छँदा हामीले सञ्चारमाध्यमबाट महत्त्वपूर्ण सहयोग पायौं। त्यसका लागि धन्यवाद दिन चाहन्छु। सरकारले गल्ती नगरोस् भनेर अमूल्य सुझावहरू दिनुभयो। ती खबरदारीले हामीलाई गल्ती नगर्न प्रेरित गर्‍यो।’

उनले लोकतान्त्रिक प्रणालीप्रति आफू निकै चिन्तित भएको पनि बताए। उनले भने, ‘प्रतिगमन शब्दको दुरुपयोग भयो । जनादेश जाने कुरा कसरी प्रतिगमन भयो?’

ओलीले आफ्नो पार्टी फुटाउने मनसायले सरकारले अध्यादेश ल्याएको भन्दै आपत्ति जनाए।  उनले भने, ‘परमादेशबाट सरकार बन्दा केहीलाई हाइसन्चो भए पनि यसले लोकतन्त्र कमजोर पार्नेछ। हामी लोकतान्त्रिक प्रणालीको भविष्यप्रति चिन्तित छौं।’ 

सरकारले २ भदौमा संसदीय दल वा पार्टीको केन्द्रीय समितिको २० प्रतिशत संख्या भएमा दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो।

अध्यादेशअनुसार नेकपा एमाले विभाजन भएर माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भयो भने जनता समाजवादी दल विभाजन भएर महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी बनेको छ। यद्यपि सरकारले सोमबार  उक्त अध्यादेश खारेज गरेको छ।