सरकारमा भाग खोजेका प्रधानन्यायाधीशको राजिनामा माग्न थालियो

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मन्त्रिपरिषदमा भागबन्डा   खोजेको आरोपसहित समाचार बाहिरिएपछि उनी विवादको भूमरीमा परेका छन्।

राणाको उक्त कदमको विरोध गर्दै सर्वोच्चभित्रै र बाहिरबाट उनले राजीनामा दिनुपर्ने आवाज उठेको छ। सर्वोच्चका न्यायाधीशहरुसमेत राणासँग जोडिएर आएको उक्त समाचारप्रति चिन्ता जनाउँदै छटपटिएका छन्।

एक न्यायाधीशका अनुसार अनौपचारिक रुपमा राणालाई भेटेर समाचारको सत्यताबारे जानकारी माग्ने र सत्यता भए नैतिकता प्रदर्शन गर्न आग्रह गर्ने तयारी भएकाे छ। ती न्यायाधीशले देश सञ्चारसँग भने, ‘यो विषय अदालतको प्रतिष्ठा र संस्थाको निष्पक्षतासँग प्रत्यक्ष सरोकार राख्छ। प्रधानन्यायाधीशले प्रष्ट पार्नैपर्छ।’

प्रधानन्यायाधीश राणाको कार्यशैलीप्रति सर्वोच्चका अरु न्यायाधीशहरु संगठित रुपमै असन्तुष्ट हुँदै आएका छन्।

समाचारको विषयलाई लिएर सर्वोच्च बार एसाेसियसनले प्रधानन्यायाधीश राणाको ध्यानाकर्षण गराएको छ। मंगलबार आकस्मिक रुपमा इजलास बस्नुअघि राणालाई भेटेका हुन्।

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा गएको टोलीले समाचारको सत्यताबारे प्रधानन्यायाधीशको ध्यानाकर्षण गराएको सहभागी  कानुन व्यवसायी विकास भट्टराईलेले जानकारी दिए। शाक्यले राणासमक्ष राखेको भनाइ उद्धृत गर्दै सर्वोच्च बारका कार्यसमिति सदस्य विकास भट्टराईले भने, ‘सञ्चारमाध्यममा तपाईंले समेत भागबन्डा खोजेको कुरा आयो। यो गम्भीर विषय हो, यसको सत्यता के हो? यदि होइन भने तुरुन्तै खण्डन हुनुपर्छ।’