‘संसद चलाउन दिल भित्रैबाट लागेको छु’

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले आफू पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत रहेको बताएका छन्। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पदीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै संसद अवरुद्ध पारिरहेका बेला सभामुख सापकोटाको सो भनाइ बाहिर आएको हो।

संघीय संसद सचिवालय कर्मचारी युनियनले विजया दशमी, दीपावली, नेपाल संवत् र छठ पर्वको अवसर पारेर सोमबार सिंहदरवारमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले इतिहासले आफूलाई संघीय संसदको नेतृत्व गर्ने अवसर प्रदान गरेको उल्लेख गर्दै सो पदलाई न्याय गर्नुपर्छ भनेर दिल भित्रैबाट प्रण गरिरहेको बताए।

सभामुख सापकोटाले संसदलाई जीवन्त र जनमुखि बनाउने प्रतिवद्धतासमेत दोहोर्‍याए। उनले संसदको कार्यभार असाधारण र असामान्य भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्नका लागि सबैलाई एकतावद्ध हुन आह्वान गरे।

सभामुख सापकोटाले भने, ‘हामीले जुन प्रण गरेका छौँ–संघीय संसदलाई जीवन्त र जनमुखी बनाउने। त्यो सुत्र वाक्यलाई मैले त सधैँभरी दिल र दिमागमा राखेर कार्यरुप दिन सकियोस् भनेर प्रयास गरिरहेको छु। संघीय संसदको कार्यभार असामान्य र असाधारण छ। यी जिम्मेवारी पूरा गर्नका लागि हामी एकतावद्ध होऔं। हाम्रो युनियनले त्यतातिर पहल गरिरहेको छ। संसद सचिवालयको तर्फबाट पनि पहल गरिएको छ। अहिले मलाई इतिहासले संघीय संसदको नेतृत्वमा, प्रतिनिधिसभाको सभामुखमा लगेर राखेको छ। म यो पदको लागि न्याय गर्नुपर्छ भन्ने कुरामा भित्रैदेखि प्रण गरिरहेको छु।’

सभामुख सापकोटाले गुणस्तरीय कानुन बनाउने र त्यसको कार्यान्वयन भए/नभएको अनुगमन गर्ने कामलाई पनि आफूले दृढताका साथ अगाडि बढाइरहेको दावी गरे। उनले दर्शन शास्त्रलाई उद्धृत गर्दै विवेक र चेतनाको संयोजनबाट मात्रै सही निर्णय लिन सकिने धारणासमेत राखे।