एमाले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने

काठमाडौं । एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन(इबिएम) प्रयोग गर्ने भएको छ।

शुक्रबार बसेको स्थायी कमिटि बैठकले आउँदो मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनमा मतदानका लागि विद्युतीय मेसिन प्रयोग गर्ने निर्णय गरेको सचिव प्रदिप ज्ञवालीले जानकारी दिए।

त्यस्तै एमालेले गत चैत मसान्तसम्म पार्टीको सदस्य भएका व्यक्तिहरुले महाधिवेशन प्रतिनिधि छनोटमा भाग लिन पाउने निर्णय पनि गरेको छ।

कहिलेसम्म पार्टी सदस्य भएका व्यक्ति महाधिवेशन प्रतिनिधि छनोटमा भाग लिन पाउने भन्ने अन्योतालाई अन्त्य गर्दै एमालेले चैत मसान्तसम्म संगठित सदस्यता लिएकालाई प्रतिनिधि छनोटमा सहभागी गराउने भएको हो। कति संगठित सदस्य बराबर एक महाधिवेशन प्रतिनिधि हुने भन्नेबारे निर्णय भने गरेको छैन।

बैठकले महाधिवेशन आयोजक कमिटिको सहसंयोजकमा सुरेन्द्र पाण्डेलाई नियुक्त गरेका छ। त्यस्तै सचिवको जिम्मेवारी विष्णु रिमाललाई दिइएको ज्ञवालीले जानकारी दिए।

उनका अनुसार आउँदो केन्द्रीय कमिटि बैठकसम्म दश बुँदे कार्यान्वयन गरिसक्ने निर्णय पनि भएको जानकारी दिए। एमालेले महाधिवेशनबारे थप छलफल र निर्णय लिन यही कात्तिक ११ गते स्थायी कमिटि र १२ गते केन्द्रीय कमिटिको बैठक बोलाएको छ।