कानुन विपरीत बढेको औषधीको मुल्यबारे छानविन हुने

काठमाडौं । औषधी व्यवस्था विभागले कानुन विपरित बढाएको विदेशी औषधीको मुल्यबारे छानविन गर्ने जिम्मेवारी स्वास्थ्य सचिवलाई दिइएको छ।

बिहीबार पत्रकारसँगको भेटघाटमा स्वास्थ्यमन्त्री विरोध खतिवडाले कानुन विपरित बढाइएको विदेशी औषधीको मुल्य छानविन गर्ने जिम्मेवारी स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई जिम्मेवारी दिइएको जानकारी दिएका हुन्।

उनले भने, ‘विदेशी औषधीको कानुन विपरित मुल्य वृद्धि गरिएको सम्बन्धमा छानविन गर्ने जिम्मेवारी स्वास्थ्य सचिवलाई दिइएको छ।’

मन्त्री खतिवडाका अनुसार औषधीको मुल्य सम्बन्धमा देखिएको समस्या दीर्घकालीन रुपमा कसरी समाधान गर्ने भन्ने विषय पनि टुंगो लगाइने छ।

विभागले पछिल्लो वर्ष मात्रै विभिन्न ७ कम्पनीका ५२ वटा औषधिको ३२ प्रतिशतसम्म मूल्यवृद्धि गरेको छ।मुल्यवृद्धि गरिएका औषधीहरु सबै विदेशी कम्पनीहरुका रहेको र उक्त औषधीमध्ये अधिकांश कडा रोगका बिरामीमा नियमित प्रयोग गर्ने गरेको पाइएको छ।