काठमाडौं सम्मेलन गर्दै नेकपा माओवादी

काठमाडौँ — माओवादी केन्द्रको आगामी राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टीको सम्मेलन काठमाडौंमा गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको मिति पुस ११–१३ का लागि यसअघि तोकिसकेको थियो ।

प्रवक्ता कृष्णबहादुर महराका अनुसार बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष तोकेको छ । प्रदेश पदाधिकारीहरूका सम्बन्धमा भने अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा सम्बन्धित प्रदेशभित्रका केन्द्रीय कमिटी सदस्यहरूसँग परामर्श गरेर टुंगो लगाउने निर्णय भएको छ । बैठकले पाँचदलीय गठबन्धन समन्वय समितिमा पार्टीका तर्फबाट अध्यक्ष दाहाल र नेता नारायणकाजी श्रेष्ठलाई पठाउने निर्णय पनि गरेको छ ।

बैठकमा एमसीसी सम्झौतालाई राष्ट्रिय सहमति कायम नभई र संशोधन तथा परिमार्जनबिना अगाडि नबढाउने कुरा भएको पनि प्रवक्ता महराले जानकारी दिए । ‘एमसीसीका विषयमा बाहिर कन्फ्युजन भएको छ,’ उनले भने, ‘एमसीसी सम्झौताका कतिपय कुरा आपत्तिजनक छन् । केही परिमार्जन नभईकन र राष्ट्रिय सहमति नभईकन अगाडि बढ्दैन ।’ माओवादी न्यायालयभित्रको विवाद न्यायालय आफैंले टुंग्याउनुपर्ने पक्षमा रहेको प्रवक्ता महराको भनाइ छ । ‘न्यायालय स्वतन्त्र संस्था हो । त्यस विषयमा अहिले हामी केही बोल्दैनौं । न्यायालय आफैंले टुंग्याओस् भन्नेमा छौं,’ उनले भने ।