घरजग्गाको मुल्य घटेको राष्ट्र वैकको तर्क

काठमाडौं । घरजग्गाको मूल्य वृृद्धिदर घटेको छ । कोभिड महामारीसँगै कारोबारमा मन्दी आएका कारण मूल्यवृद्धिसमेत घटेको नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले देखाएको हो ।

राष्ट्र बैंकले पहिलोपटक गरेको घरजग्गाको मूल्य सर्वेक्षणमा घरजग्गाको मुद्रास्फीति घटेको हो । सर्वेक्षण नतिजाअनुसार आर्थिक वर्ष २०७६–०७७ मा वाणिज्य बैंकको मूल्यांकनका आधारमा वार्षिक औसत घरजग्गा मुद्रास्फीति २६.४५ प्रतिशत र मालपोत कार्यालयको कारोबारका आधारमा १९–७३ प्रतिशत छ । आर्थिक वर्ष २०७७–०७८ को पहिलो नौ महिनामा बैंकको मूल्यांकनमा १६.३१ र मालपोत कारोबारमा १२।५७ प्रतिशतमात्र मूल्यवृद्धि भएको पाइएको छ ।

घरजग्गाको कारोबारमा केही शिथिलता आएकोले मुद्रास्फीति पनि घटेको प्रतिवेदनमा उल्लेख गरिएको छ । अध्यनमा बैंकहरुले गर्ने मूल्यांकन र मालपोत कार्यालयमा लिखत पास गर्दा तोकिएको थैली रकममा फरक पाइएको छ । घरजग्गा किनबेचमा लाग्ने पुँजीगत लाभकर कम तिर्नका लागि सर्वसाधारणले आफूले कारोबार गरेको रकमभन्दा पनि कम वा सरकारी मूल्यांकनका आधारमा मात्र कारोबार गरेको देखाउने गरेका छन् । यसैगरी बैंकबाट ऋण लिनका लागि कारोबार गर्दा भने बैंकको ऋण भन्दा बढी मूल्य देखाउनुपर्ने व्यवस्थाका कारण बैंकको कारोबारका आधारमा बढी मूल्यवृद्धि भएको देखिएको हो ।

घरजग्गाको मूल्यमा आउने अस्वाभाविक उतारचढावले समष्टिगत आर्थिक स्थायित्वमा प्रतिकूल प्रभाव पार्न सक्ने सम्भावना भएकाले यस क्षेत्रको मूल्य स्थिति जानकारी राख्नका लागि केन्द्रीय बैंकले पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण गरेको हो । आव २०७५÷०७६ लाई आधार वर्षको रूपमा लिइएको राष्ट्र बैंकले जनाएको छ ।

घरजग्गा मूल्य सूचकांक तयारीका निम्ति प्रत्येक प्रदेशको भौगोलिक अवस्थिति, कारोबारको सघनता र तथ्यांक उपलब्धतासमेतलाई दृष्टिगत गरी नमुनामा परेका २० वटा जिल्लाका २० स्थानलाई तथ्यांक स्रोत केन्द्रको रूपमा छनोट गरी त्यस्ता तथ्यांक स्रोत केन्द्रबाट तथ्यांक संकलन गरिएको पनि केन्द्रीय बैंकले स्पष्ट पारेको छ ।