प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण, सम्पर्कमा रहेका एमाले नेताहरुमा खैलाबैला

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण भएको छ। नेता ज्ञवालीले मंगलबार आफूमा संक्रमण देखिएको पुष्टि गरेका हुन्।

कोभिड संक्रमण देखिए पनि आफूमा लक्षण सामान्य रहेको उनको भनाइ छ। नेता ज्ञवालीले चार पाँच दिनका बीचमा निकट सम्पर्कमा आएका सबैलाई सजग र सुरक्षित रहन पनि आग्रह गरेका छन्।

‘कोभिड संक्रमण देखिएको छ। लक्षण सामान्य छन्। विगत ४/५ दिनका बीचमा निकट सम्पर्कमा आउनुभएका सबैलाई सजग र सुरक्षित रहन एवं कुनै लक्षण देखिनासाथ परीक्षण गराउनु हुन अनुरोध छ। सम्पर्कका लागि एसएमएस या इमेल प्रयोग गरिदिनु भए आभारी हुने थिएँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

केही दिनदेखि एमाले बैठक जारी छ। उनी यसअघि सम्पन्न केन्द्रीय कमिटीको बैठकमा समेत उपस्थित भएका थिए। मंगलबार संसदीय दलको बैठक बसेको थियो।