उपत्यका विकास प्राधिकरण खारेजीको हाम्रो माग यथावत छः मेयर शाक्य

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यका विकास प्राधिकरणको खारेजीको माग यथावत रहेको बताएका छन् । काठमाडौं महानगरपालिकाको २७ औं स्थापना दिवस मनाउने सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै शाक्यले सो कुरा बताएका हुन् ।

पत्रकार भेटघाटका क्रममा शाक्यले भने, ‘स्थानीय सरकार गठन भएपछि उनीहरुका काम उपत्यका विकास प्राधिकरणले गरिरहनु उचित होइन । उसको काम भनेको नीति बनाउने हो । स्थानीय तहले गर्ने काम प्राधिकरणले नगरे हुन्छ । यो काठमाडौँको मात्र धारणा होइन । उपत्यका नगरपालिका फोरमको भनाइ हो ।’

यस वर्ष काठमाडौँ महानगरपालिकाले मंसिर २७, २८ र २९ गते ३ दिन २७ औँ महानगर दिवसका कार्यक्रम गर्ने भएको छ । यही अवसर पारेर सेवाग्राही सर्वेक्षण, जेष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप तथा स्वास्थ्य शिविर, विशेष सरसफाई, खेलकुद, ‘सांस्कृतिक सहर, काठमाडौँ महानगर’ विषयमा विद्यालय स्तरीय निबन्ध र वक्तृत्वकला प्रतियोगिता, सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने तयारी समेत गरिरहेको छ ।

प्रमुख शाक्यकाअनुसार मूल समारोहमा परम्परागत बाजा गुरुहरुको सम्मान, उत्कृष्ट वडा कार्यालय घोषणा, जनकमान श्रेष्ठ सुशासन पुरस्कार वितरण, स्थानीय सेवा गौरव पदक वितरण, करदाता सम्मान, कर्मचारी सम्मान, सुशासन पत्रकारिता पुरस्कार वितरणलगायत कार्यक्रम हुनेछन् ।

संघीय र प्रदेश संसदहरुले पूर्वाधार साझेदारी कार्यक्रम गर्दा स्थानीय तहसँग एकीकृत योजनासहित ठूला–ठूला योजना सञ्चालन गर्नुपर्छ । पैसा हुञ्जेल योजना चलाउने पैसा सकिएपछि विचमै योजना रोकिने प्रवृत्ति देखिएको छ । शाक्यले भने, ‘माननीयज्युहरुको पनि बाध्यता छ । आफूलाई जिताएर पठाएका मतदाताको माग अनुसार र आफ्नो उपस्थिति देखाउन पनि ढल राख्ने, ब्लक छाप्ने जस्ता काम गर्नुपरेको छ । यसले रकम पनि खर्च हुने परिणाम पनि नआउने अवस्था सिर्जना भएको छ ।’