विद्युत प्राधिकरणका लेखा प्रमुख विष्णु प्रसाद गुप्ता अख्तियारको फन्दामा

काठमाडौं । बिद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालय, लाहान वितरण केन्द्रका लेखा प्रमुख विष्णु प्रसाद गुप्ताले गलत मनसायले आफूलाई लाभ हुने कार्य गरी भ्रष्टाचार गरेकाले अख्तियारमो फन्दामा परेका छन् । गुप्ताले भ्रष्टाचार गरेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान गर्दा गुप्ताले मिटररिडर पदबाट अनिवार्य अवकाश पाएका धनपति ठाकुर, हेल्पर पदबाट अनिवार्य अवकाश पाएका सत्यनारायण साहले अनिवार्य अवकाश भएपश्चात प्राप्त गर्ने बीमावापतको रकममा हिनामिना गरेका थिए ।

गुप्ताले सम्वन्धित व्यक्तिहरुलाई बिना जानकारी, निजहरुलाई झुक्याई निकासा भुक्तानी भौचरमा दस्तखत गराई बीमावापत पाउने रकमको चेक बनाई कार्यालय सहायकमार्फत धनपति ठाकुरको नामको ८ लाख ७ हजार ३ सय ६० को चेक आफ्नो नाममा रहेको बैंक अफ काठमाडौं लाहान शाखाको खातामा जम्मा गराएको र सत्यनारायण साहको १ लाख २४ हजार २ सय कार्यालय सहायकलाई सटही गर्न लगाई आफैले नगद लिएको, बीमावापतको रकम पाउदैनौ भन्दै आफैले लिएको अनुसन्धानमा देखिएको थियो ।
गुप्ताले गलत मनसायले आफै खाने सोच राखी भ्रष्टाचार गरेको पुष्टि हुन आएको हुँदा निजलाई विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारयाणप्रसाद रिसालले जनाएका छन ।