‘संसदमा मेरो उपस्थितिले ओलीको सातो गएको छ’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसदमा आफ्नो उपस्थितिले एमाले अध्यक्ष केपी शर्मा ओलीको सातो गएको बताएका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले संसदमा आफ्नो उपस्थितिले ओलीको सातो गए पनि आफूहरुको ध्येय भने कम्युनिष्ट आन्दोलन र नेपाल राष्ट्रको गरिमालाई उच्च बनाउनु रहेको बताए।

मंगलबार पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले एमालेले संसदमा संविधानको सम्मान गर्ने नारा लगाए पनि कहिल्यै सम्मान नगरेको दावी गरे।

एमालेले संसदीय मर्यादाको समेत पालना नगरेको अध्यक्ष नेपालको आरोप थियो। उनले एमालेले संसदबाट आफूहरुलाई हटाउन दवाव दिए पनि त्यो अधिकार कसैलाई नरहेको बताए।

उनले भने, ‘कमसेकम मेरो उपस्थितिले केपी ओलीको सातो गइरहेको छ नि। सातो जाओस्। केही मतलव छैन। नेपाली जनताको सातो कायम रहनु पर्छ। नेपाल राष्ट्रको गरिमा माथि उठनुपर्छ। कम्युनिष्ट आन्दोलन जोगिनुपर्छ। कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाउनु पर्छ। हाम्रो ध्येय यही नै हो। केपी ओलीको कब्जामा रहेको, उनको प्राइभेट कम्पनीमा रुपान्तरण भएको कथित नेकपा (एमाले) त्यो हाम्रो सबैभन्दा पहिलो प्रतिद्वन्द्वी पार्टी बन्न पुगेको छ। उसले हामीलाई शत्रु घोषणा गरेको छ। हाम्रो अनुहार पनि हेर्दिनँ भनेको छ। तर कस्तो संयोग, नेपाली कांग्रेसको कार्यक्रममा अनुहार हेर्दै जानुपरेको छ। रमाइलो भा’छ। भनेपछि नेपाली कांग्रेसको कार्यक्रममा आउन हुने, एउटै स्टेजमा बस्न पनि हुने, तर अन्य ठाउँमा हामीलाई छुवाछुतको व्यवहार गर्ने?’

अध्यक्ष नेपालले थपे, ‘अहिले आइरहेका छैनन् संसद बैठकहरुमा। आउँछन्, नारा लगाउन सुरु गर्छन्। नारा लगाउन सिकाएको हो कि क्या हो? नारा लगाइरहेका विषयहरु के–के छन्? नारामा भनिएका कुरा सुन्नुस् त। नम्बर एक–संसदीय मर्यादा पालना गर। ओली गुटले मर्यादा पालना गरेको छ? संविधानको सम्मान गर। तर गरेका छन् त? अनि नारा के लगाएको हुन्छ त भन्दाखेरी हामीले कारबाही गरेका व्यक्तिलाई यहाँबाट हटा। के कारबाही गर्न अधिकार पाएको छ, दिइएको छ ? त्यो अधिकार प्राप्त छ? हामी भन्छौं–छैन।’

अध्यक्ष नेपालले एमाले आफ्नो पार्टीको प्रमुख प्रतिद्वन्द्वी भएको पनि बताए।