३ बैंकबाट ८ करोड ७४ लाख अवैध कारोबार

काठमाडौं । वैदेशिक मुद्रा सञ्चिति घट्दो क्रममा रहेको बेला विदेशी विनिमयको गैरकानुनी रुपमा प्रयोग गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ । मुलुकको ढुकुटीमा अमेरिकी डलरको हिस्सा क्रमश घट्दा त्यसको प्रभाव समग्र अर्थतन्त्रमा बढ्दै गएको छ ।

विभागले रतुवामाई नगरपालिका ७ मोरङका पुष्कर श्रेष्ठ र विनिता लिम्बूविरुद्ध ‘विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ अनुसार काठमाडौं जिल्ला अदालतमा सोमबार मुद्दा दायर गरेको आज जारी विज्ञप्तिमा उल्लेख गरीएको छ ।

नेपालमा प्रतिबन्धित वानएक्सवेट, विनाश, एड्भी क्यास, क्वाइनबेस र प्याक्फुल जस्ता माध्यमको प्रयोग गरी सामूहिक मिलेमतोमा अमेरिकी डलरको गैरकानुनी कारोबार गरेको पाइएको छ । विभागका अनुसार आरोपितले विभिन्न एप तथा गैरकानुनी माध्यममार्फत रकम राख्ने वा पठाउने गरेको बताएको छ । नेपालमा गैरकानुनी रहेको क्रिप्टोकरेन्सीको कारोबार नगर्न समेत पटक–पटक केन्द्रीय बैंकले निर्देशन दिएको भएपनि अवैध रुपमा कारोबार भइरहेको बताएका छन् ।

उनीहरुले अमेरिकी डलरको सटही तथा क्रिप्टोमा लगानीकर्ताको रुपमा रहेको अनुसन्धानबाट खुलेको छ । आरोपी श्रेष्ठले मेगा बैंकबाट ८६ लाख ८३ हजार ४२९, सिटिजन बैंकबाट दुई करोड ५१ लाख ७६ हजार ९९, राष्ट्रिय वाणिज्य बैंकबाट दुई करोड ३६ लाख ६२ हजार ५३९ गरी कूल सात करोड ५७ लाख ७१ हजार ९५८ बराबरको रकम हिनामिना गरेको बताएका छन् । यस्तै, आरोपी लिम्बूले कूल नौ करोड ७४ लाख ६९ हजार ९८३ बराबरको विदेशी विनिमयको अपचलन गरेको अध्ययनमा पत्ता लगाएको छ ।

विभागले आरोपीलाई बिगो जफत गरी सजाय र तीन वर्षसम्मको कैद सजायको मागदाबी गर्दै मुद्दा दायर गरिएको छ । नेपाल राष्ट्र बैंकले २०७४ साउन २९, २०७५ चैत २६ र २०७८ भदौ २४ गते अवैध रुपमा विदेशी विनिमयको अवैध कारोबार नगर्न निर्देशन समेत दिएको छ ।