काठमाडौं महानगरको बदनाम गराउन फोहोरको राजनीति गरेको विद्यासुन्दर शाक्यको आरोप

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकाभित्रका सडक खण्डमा फोहोरको थुप्रो देखिन थालेको छ । फोहोर थुप्रो सडकमा आएसँगै अधिकांशले काठमाडौं महानगरपालिकालाई गाली गर्ने गर्दछन् । हुन पनि फोहोर व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाको मात्रै हो भन्ने आम बुझाई छ । तर, दुई दशक अघिदेखिको इतिहास पल्टाएर हेर्ने हो भने काठमाडौंको फोहोरसँग राजनीति जोडिएको अवस्था देखिन्छ ।

स्थानीय तहको निर्वाचन अघि पनि स्थानीय निकाय कर्मचारी सयन्त्रले सञ्चालन गरेको समयमा समेत फोहोरको राजनीति हुने गरेको थियो । त्यसबेला स्थानीय तह रिक्त भएको र लामो समय निर्वाचन नभएका कारण सरकारलाई असफल बनाउने हो र काठमाडौ महानगरमा सरुवा भएर आउने कार्यकारी प्रमुखलाई असफल बनाउनका लागि हदैसम्मको राजनीति हुने गर्दथ्यो ।

त्यसबेला पनि फोहोरको राजनीति गर्न निकै नै सक्षम देखिएका व्यक्ति हुन् दिनेश थपलिया जो अहिले निर्वाचन आयोगको प्रमुख आयुक्तका रुपमा कार्यरत छन् । लामो समय काठमाडौं महानगरपालिकामा कार्यकारी प्रमुखका रुपमा जिम्मेवारी सम्हालेका उनले आफ्नो स्वार्थ अनुरुप नभएमा केही टोले गुण्डा उठाएर भएपनि फोहोर बन्द गर्न लगाउथे ।

अहिले त्यस्तै भएको छ । स्थानीय तहका जनप्रतिनिधि आएपछि फोहोर व्यवस्थापनमा त्यत्ति धेरै समस्या नआएको भएपनि अहिले स्थानीय तहको निर्वाचन नजिँकिदै गर्दा फोहोरको राजनीति शुरु भएको छ । फोहोरको राजनीति गरेर काठमाडौं महानगरपालिकालाई बदनाम गराउने र महानगरप्रमुख विद्यासुन्दर शाक्यलाई फोहोर मै बदनाम गराउने अभियान नै गरेको महानगर प्रमुख विद्यासुन्दर शाक्यको भनाई रहेको छ ।

निर्वाचन भएको पाँच वर्ष पुरा हनु लागि रहँदा सरकारले आगामी वैशाख ३० गतेका लागि निर्वाचन तय गरिसकेको छ । काठमाडौंमा दोश्रो कार्यकालका लागि पनि प्रमुखका रुपमा विद्यासुन्दर शाक्य नै उठ्ने चर्चा चलिरहेका बेला उनको बदनाम गराउनका लागि फोहोरको राजनीति शुरु भएको शाक्यको आरोप पनि छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा शाक्यले भने, ‘फोहोर सडकमा थुपारेर महानगरपालिकाको बदनाम गराउने र विद्यासुन्दरले फोहोर व्यवस्थापन गर्न सकेन भन्ने आरोप लगायने षडयन्त्र हो ।’ उनले भने ‘सरकारले सम्पूर्ण जिम्मेवारी देओस् काठमाडौको मात्र होइन उपत्यकाकै फोहोर व्यवस्थापन गर्न हामी सक्षम छौं ।’