मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिँदै

काठमार्डौ । कर्णालीमा मिर्गौला प्रत्यारोपण सेवा सुरुआत गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच बिहीबार सम्झौता भएको जानकारी छ । उक्त सम्झौता पत्रमा प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र कर्णाली प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काले हस्ताक्षर गरेका छन् ।

प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्राडा खड्काले चालु आर्थिक वर्षभित्र प्रदेश अस्पताल सुर्खेतमा मिर्गौला प्रत्यारोपण कार्य सुरु गर्ने गरी सम्झौता भएको जानकारी दिइएको हो । प्रदेश अस्पताल अन्तर्गतका अस्पतालमा डायलासिस सेवा पनि विस्तार गर्ने सम्झौता भएको बताइएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर कालागाउँस्थित प्रदेश अस्पताल सुर्खेतले विशेषज्ञ र ठूला खालका सेवा सुरु गर्ने पहल र योजनाले कर्णालीवासीमा खुसी छाएको बताऊछन् । कर्णाली सरकारको एकमात्र ठूलो स्वास्थ्य संरचना प्रदेश अस्पतालले सेवामा बढोत्तरी गर्दै लगेपछि यहाँका बासिन्दाहरुले आफ्नो स्वास्थ्य सुरक्षाको अधिकार सुनिश्चित हुने आशा गरेका छन् ।

पहिलोपटक कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट जटिल खालको मानव अङ्ग प्रत्यारोपण सेवा सुरु हुने भएपछि मिर्गौला रोगीले सहजै उपचार पाउने र आर्थिक भार कम हुने बताउछन् । अब उनीहरुले मिर्गौला उपचारको सेवा प्रदेश बाहिरबाट लिनुपर्ने बाध्यता हट्ने प्रदेश अस्पातालको भनाई रहेको छ ।