गर्भपतन गराएको आरोपमा अभियुक्तलाई कैद सजाय

काठमाडौँ । सप्तरीको महादेवा गाउँपालिकाकी एक महिलाको गर्भपतन गर्ने अभियुक्तलाई आज कैद सजाय भएको छ । महादेवा गाउँपालिका, ४ डाढा बलिया टोलकी २४ वर्षीया महिलालाई कुटपिट गरी गर्भपतन गरेको आरोपमा ५८ वर्षीय लक्ष्मण राउत बरैलाई साढे एक वर्ष कैद सजाय भएको अदालतले जानकारी गराएका छन् ।

अदालतका सूचना अधिकारी भरतमणि पोखरेलका अनुसार जिल्ला न्यायाधीश ईश्वरमणि ओझाको इजलाशले अभियुक्त बरैलाई कैद सजायको फैसला सुनाएको छ । अन्य ३ जना आरोपितले भने सफाइ पाएका छन् ।

बरैसहित उनका छोरा २७ वर्षीय श्याम राउत वरै, ६५ वर्षीय रामजी साह र उनका छोरा ४० वर्षीय सुरेन्द्र साहले ७७ फागुन ६ गते दिउँसो कुटपिट गरी गर्भपतन गराएको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा उजुरी दिएका थिए । आफ्नो खेतमा बालीनाली हेर्न गएका बेला आरोपितहरूले गहँुबारीमा घाँस काट्ने बहानामा आफ्नो खेतको गँहु काटिरहेको देखिएपछि रोक्न खोज्दा लातमुक्काले कुटपिट गरी घाइते बनाएको पीडितको आरोप छ ।

सोही क्रममा पेट दुखेर २०७७ फागुन ११ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकोमा फागुन १२ गते पेटमा रहेको १६ हप्ताको गर्भ खेर गएको पीडितको आरोप थियो । प्रहरीले ७७ फागुन १४ गते उजुरी दर्ता गरी सोही दिन आरोपितमध्ये लक्ष्मण, श्याम र रामजीलाई पक्राउ गरेको थियो । जिल्ला अदालतमा २०७७ फागुन २३ गते अभियोगपत्र दायर भएकोमा जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलाशले आरोपित लक्ष्मण, श्याम र रामजी जनही ३० हजारमा धरौटी राखी पूर्पक्षका लागि रिहा भएका थिए ।

जिल्ला अदालतमा ७७ चैत १० गते हाजिर भएका सुरेन्द्रसमेत सोही दिन ३० हजारमा धरौटी राखी पूर्पक्षका लागि रिहा भएका थिए । अहीले लक्ष्मण राउत बरैलाई एक वर्षा छ महिना कैद सजाय भएको जिल्ला अदालतले जानकारी गराएको छ ।