देशभर सुरु भयो एसइई परीक्षा

काठमाडौँ । एसइई परीक्षा आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभर २ हजार ७ परीक्षा केन्द्रबाट एकैपटक परीक्षा सञ्चलन गरेको छ ।

कोरोना महामारीका कारण शैक्षिकसत्र २०७७ र २०७६ मा विद्यालयको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरे पनि यस वर्ष भने सामान्य स्वाथ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै बोर्डले परीक्षा सञ्चालन गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा शान्तिपूर्णरूपमा सम्पन्न गर्न तथा गराउन सबैमा आग्रह गरेका छन् ।

परीक्षा नियन्त्रक अर्जुन रायमाझीले एसइई परीक्षामा देशभरका ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ छात्र एक लाख ५७ हजार ९१४ र छात्रा २ लाख ५७ हजार ५३ गरी कूल ५ लाख १४ हजार ९६७ परीक्षार्थी सहभागी भएको जानकारी दिएका छन् ।

यस वर्षको एसइईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० विद्यार्थी पनि सहभागी भएको बताएका छन् । दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४५४ विद्यार्थी र प्राविधिक धारका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी पनि एसइईमा सहभागी भएको उल्लेख गर्दै उनले परीक्षामा सबैभन्दा कम मनाङबाट ४३ विद्यार्थी सहभागी भएको जानकारी दिए ।

एसइई परीक्षा सञ्चालनका लागि प्रदेश परीक्षा व्यवस्थापन समितिले परीक्षाको अनुगमनदेखि उत्तरपुस्तिका परीक्षण, संपरीक्षण र रुजुको कामसमेत गर्ने भएको बोर्डका अध्यक्ष शर्माले जानकारी दिएका छन् । परीक्षाका लागि प्रदेश परीक्षा व्यवस्थापन समितिमार्फत जिल्ला परीक्षा समन्वय समितिलाई परिचालन गरिएको छ । प्रदेश परीक्षा व्यवस्थापन समितिले विद्यार्थीको प्राप्ताङ्क पठाएपछि अन्तिममा त्यसलाई रुजु गरेर बोर्डले नतिजा प्रकाशन गर्ने उनले बताए ।

यस वर्ष एक महिना ढिलो परीक्षा सुरु भएको छ, बोर्डले परीक्षाका नियमावली संशोधन गरेर प्रदेशलाई धेरै जिम्मेवारी दिएको छ, नतिजा जारी गर्न केही दिन तल–माथि हुनसक्ला, यद्यपि साउन १ देखि कक्षा ११ को शैक्षिकसत्र सुरु हुनुअघि नै एसइईको नतिजा सार्वजनिक गर्ने लक्ष्य रहेको अध्यक्ष शर्माले जानकारी गराएको छ ।