जुम्लामा आगलागी हुँदा चार बालबालिकाको मृत्यु

काठमाडौँ । जुम्ला जिल्लामा गए राति आगलागीबाट चार बालबालिकाको मृत्यु भएको छ । तिला गाउँपालिकाका ३ जुम्ला कुडारी सार्कीवाडा गाउँमा आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ । मृत्यु हुनेमा सार्कीका छोरीहरु ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिएका छन् ।

प्रहरी नायब उपरीक्षक चन्दका अनुसार आगलागीबारे राति ११ः४५ बजे हामीलाई जानकारी भयो र वानकारी पाउने बित्तिकै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईसहितको टोलीले त्यहाँ पुगेर आगो नियन्त्रणमा लियो । आगलागीबाट घरको दोस्रो र तेस्रो तला पूर्णरुपले क्षति भएको उले बताए ।

आगलागीका कारण बेहोस भएका मानसिं र उनकी श्रीमती फागुनी तथा बहिनी रुन्चकलीलाई उपाचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । मृतक चारै बालबालिकाको शव परीक्षणका लागि प्रतिष्ठानमा ल्याउँदै गरेको प्रमुख प्रहरी चन्दले बताए । आग्लागी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी कार्यलयले जानकारी दिएको छ ।