राष्ट्रपति भण्डारी र डब्ल्युएचओका महानिर्देशकबीच शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग विश्वस्वास्थ्य सङ्गठन डब्ल्युएचओका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेटवार्ता गरेका छन् । आज बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरुबीच भेटवार्ता भएको राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिएका छन् ।

उनका अनुसार भेटमा राष्ट्रपति भण्डारीले कोरोना भाइरस महामारीमा सबै देशलाई समान तरिकाले डब्ल्युएचओले खोप वितरण गरेकामा डब्ल्युएचओ महानिर्देशक डा टेड्रोसलाई धन्यवाद ज्ञापन गरेके बतएका छन् । महानिर्देशक डा टेड्रोसले नेपालले कोरोना भाइरस खोप धेरैजसोलाई लगाएकामा कृतज्ञता व्यक्त गरेका छन् ।

महानिर्देशक डा टेड्रोसले राष्ट्रपति भण्डारीलाई नेपालले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानकाबारेमा जानकारी गराएका थिए । महानिर्देशक डा टेड्रोसले नेपालको स्वास्थ्य नीतिका बारेमा चासो समेत राखेका थिए । उनले डब्लुएचओ नेपाललाई गर्ने सहयोगका बारेमा पनि राष्ट्रपति भण्डारीलाई जानकारी गराएको पनि ढकालले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा तीन दिने भ्रमणमा बिहीबार नेपाल आएका महानिर्देशक डा टेड्रोसले बिहीबार नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गरेका छन् । महानिर्देशकका साथ डब्ल्युएचओको दक्षिणपूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीसमेत नेपाल आएका छन् ।