खानेपानी आयोजना निर्माण कार्य सुरु

काठमाडौँ । कञ्चनपुरमा शुक्लाफाँटा नगरपालिका ९ मा ७ करोडको लागतमा खानेपानी आयोजना निर्माण कार्य अगाडि बढाइएको छ । लामो समयदेखि हेण्डपम्पको पानी प्रयोग गर्दै आएका स्थानीय शेरबहादुर सार्कीले बताएका छन् । खानेपानी आयोजना निर्माण हुन थालेपछि शुद्ध पानी पाउनेमा आशावादी गरेको बताए ।

हेण्डपम्पको पानीमा आर्सेनिक, आइरनलगायत रसाइनका कारण विभिन्न किसिमका रोगको समस्या स्थानीय बासिन्दाले झेल्दै आएका छन् । ६ सय घरघुरीमा सुरक्षित खानेपानी उपलब्ध गराउनका लागि खानेपानी आयोजना सञ्चालन गरिएको वडाध्यक्ष रमेशबहादुर ऐरले बताएका छन् । दुई वर्षभित्रै उक्त आयोजना सम्पन्न गर्ने गरी कार्य भइरहेको ऐरले बताए । उनका अनुसार स्थानीय बासिन्दाका घरघरमा खानेपानी पु¥याउने लक्ष्यअनुरुप कार्य अगाडि बढाइएको छ ।

खानेपानीको आवश्यकताका आधारमा सार्वजनिक स्थान, विद्यालय, स्वास्थ्य चौकीलगायत क्षेत्रमा धारा राख्ने योजनासमेत रहेको बताए । खानेपानी आयोजनासँगै वडा क्षेत्रमा नगर उद्यान निर्माणको कार्यसमेत अगाडि बढ्ने भएको छ । वडाध्यक्ष ऐरले भने, रु २ करोड २० लाखको लागतमा नगर उद्यान निर्माण हुन लागेको छ । ४ बिघा जग्गामा निर्माण भइरहेको उद्यानमा बालबालिकाका लागि खेल्ने मनोरञ्जन गर्ने साधनसँगै फूलबारी, सौर्यबत्ती, पानीका फोहरा राखिने योजना छ ।

पालेघर, पर्खालसँगै शौचालयसमेत निर्माण गरिने छ । घरकटुवा खोलामा ८३ लाखको लागतमा मल्टिस्पान झोलुङ्गेपुल, १२ लाखको लागतमा वडाका विभिन्न स्थानमा सौर्यबत्ती, ४ लाखको लागतमा १२० वटा सडक बत्ती, १४ लाख ५० हजारको लागतमा २७ ठाउँमा खानेपानीको अटोजन नल्का गाडिएको अध्यक्ष रमेशबहादुर ऐरले बताए ।