गोरखामा पाँच वडाका दलित सदस्यमा उम्मेदवारी खाली

काठमाडौँ । गोरखा जिल्लाको चुमनुब्री गाउँपालिकाको पाँचवटा वडामा निर्वाचनको लागी दलित समुदायबाट उम्मेदवारी दर्ता नभएको पाइएको छ । उक्त गाउँपालिकाको वडा नं १, ४, ५, ६ र ७ मा दलित समुदायका लागि व्यवस्था गरिएको आरक्षण कोटामा उम्मदेवारी नपरेको सहायक निर्वाचन अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिइएका छन् ।

गाउँपालिकामा वडा समितिमा १ जना दलित सदस्यको अनिवार्य व्यवस्था भएको भए पनि ती वडामा उम्मेदवारी नपरेको उनले बताए । गाउँपालिकाको ७ वटा वडामध्ये २ वडामा मात्र दलित समुदायको उम्मेदवारी परेको निर्वाचन अधिकृत श्रेष्ठले बताएका छन् । उक्त पालिकाको वडा नं २ र ३ मा मात्र दलित महिलाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत श्रेष्ठको भनाइ छ ।

नेपाली कांग्रेसबाट निरमाया विक र जनता समाजवादी पार्टीबाट निमा कामीको उम्मेदवारी परेको छ । वडा नं २ मा ल्हाक्पा डिकी कामीको उम्मेदवारी परेको छ भने वडा नं ३ मा नेकपा माओवादी केन्द्रबाट फुतानी कमिनीको दर्ता भएको, निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ ।

गाउँपालिकाको– १ मा कांग्रेसबाट कर्म सन्डुप लामा, माओवादीबाट डेजेन डोल्मा, एमालेबाट पासाङ लामाको एकमात्र उम्मेदवारी दर्ता भएको छ । वडा नं २ मा माओवादीको तर्फबाट ल्हाक्पा डिकी कामी सदस्यमा निर्विरोध भएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिइएका छन् ।

चुमनुब्री गाउँपालिकामा वडाध्यक्षसहित ८ जनाको एकल उम्मेद्वारी परेपछि निर्विरोध निर्वाचित भएका छन् । वडा नं ६ मा नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेद्वार सरोज लामा, सदस्य ठिमे ग्याम्जो लामा, सोनाम लामा, डोल्मा लामाको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएका हुन् ।