उम्मेदवारहरु भोट माग्न घरदैलो अभियानमा व्यास्त

काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् । राजनीतिक दल र स्वतन्त्ररुपमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायतका पदमा उम्मेदवारी दिएसँगै भोट माग्न घरदैलो अभियान सुरु गरेका छन् ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बाट नगर प्रमुखका उम्मेदवार राजेन्द्र पाण्डेय र उपप्रमुखका उम्मेदवार कृष्णदत्त जोशीले पनि टोलटोलमा पुगेर भोट मागिरहेका छन् । भीमदत्त नगरपालिकामा नेकपा एमालेबाट नगरप्रमुखका उम्मेदवार महेशप्रसाद पन्त र उपप्रमुखका उम्मेदवार भुवन केसीले पार्टीका नेतासहित वडा वडामा घरदैलो अभियान सुरु गरिसकेका छन् ।

नेपाली कांग्रेसले भीमदत्त नगरपालिका १ रौटेला मन्दिर छेउबाट घरदैलो कार्यक्रम गर्ने भएको छ । आज बिहानदेखि सुरु हुने घरदैलो अभियानमा नगरप्रमुख, उपप्रमुखका साथै केन्द्रीय सदस्यद्वय रमेश लेखक र यज्ञराज जोशीसहितको टोली सहभागी हुने छ । कांग्रेस भीमदत्त नगरसचिव राहुल भट्टले भने, यहाँ वडा वडामा सम्र्पक कार्यालय र चुनावी गतिविधि सुरु भइसकेको छ ।” उनले घरदैलो तथा चुनावी कार्यक्रममा केन्द्रीय नेताको पनि उपस्थिति रहने बताए ।

बेलौरी र पुर्नवास नगरपालिकामा पनि घरदैलो अभियान सुरु भइसकेको छ । एमाले बेलौरीका नगर उपाध्यक्ष महेश्वरी खत्रीले उम्मेदवारसहित आफूहरु घरदैलो अभियानमा खटिएको जानकारी दिइएका छन् । अन्य स्थानीय तहलमा पनि नेताहरुले घरदैलो अभियानमा जुटेका छन् ।

पहिलोपटक बेलौरीमा हामीले महिलालाई नगर प्रमुखको उम्मेदवार बनाएका छौँ”, उनले भने, घरदैलो अभियान पनि सुरु गरिसकेका छौँ ।” पार्टीहरु विभिन्न चुनावी एजेण्डा लिएर घरदैलो अभियानमा लाग्नुका साथै आवश्यक रणनीति बनाउन दिनहुँजसो पार्टीमा छलफल गरिरहेको उपाध्यक्ष महेश्वरी खत्रीको भनाइ रहेको छ ।

कञ्चनपुरको नौवटै पालिकामा नगरप्रमुख र पालिका अध्यक्षका लागि ७३ जनाको उम्मेदवारी दर्ता भएका छन् । भीमदत्तमा प्रमुख राजनीतिक दलसहित स्वतन्त्र गरी १४ जनाले नगरप्रमुख पदमा उम्मेदवारी दिएका छन् । दोधारा चाँदनी नगरपालिकामा ८ जनाले र बेदकोट नगरपालिकामा प्रमुख राजनीतिक दलसहित स्वतन्त्र गरेर ११ जनाले नगरप्रमुखमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ ।

बेलौरी नगरपालिकामा ६ र पुर्नबास नगरपालिकामा ७ जनाले नगरप्रमुखमा उम्मेदवारी दिएका छन् । लालझाडी गाउँपालिकामा ६ तथा बेल्डाँडी गाउँपालिकामा ६ जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता भएका छन् । स्थानीय निर्वाचनका लागि कञ्चनपुरमा ३ मात्रै ४० मतदान केन्द्र राखिएको छ । कूल मतदाताको सङ्ख्या २ लाख ९५ हजार ३५४ रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ ।